काठमाडौं । स्टार्टअप आइडिया पठाउन बागमती प्रदेश सरकार र राष्ट्रिय वाणिज्य बैंकले आग्रह गरेको छ । सो स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी भई निःशुल्क तालिम र सहुलियतकर्जाको लाभ लिन सकिने व्यवस्था छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले सरकारले बैंक, वित्तीय संस्था र निजी क्षेत्रको नेतृत्वमा युवाहरुलाई उद्यमी बनाउने नीति लिएको उल्लेख गरे ।
बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र विशाल फाउण्डेसनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले स्टार्टअप आइडियाहरुलाई संरक्षण र प्रोत्साहनकै लागि पूर्ण प्याकेजको रुपमा अघि बढाइएको बताए ।
१ सय ५० जना युवालाई वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल, ई-कमर्स सस्तो डिलका संस्थापक अमुन थापा, महिला उद्यमी महासंघका उपाध्यक्ष दर्शना श्रेष्ठ, बरिष्ठ महिला उद्यमी स्यामबदन श्रेष्ठ, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, समृद्धि कलेजका प्रिन्सिपल सन्दीप श्रेष्ठले आफ्ना धारणा राखेका थिए ।
हालसम्म ४ सय जना युवाहरुले स्टार्टअप आइडिया कलमा प्रस्ताव पठाए छन् । स्टार्टअप आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्तसम्म आइडिया पठाउने युवाहरुलाई निःशुल्क तालिम र सहुलियतपूर्ण कर्जाका लागि आयोजकले सहजीकरण गर्ने बताए ।
युवा उद्यमी प्रवद्र्धन कार्यक्रमअन्तर्गत बागमती प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरु लक्षित गरेर आइडिया कल कार्यक्रम सञ्चालन गरिएको आयोजकको भनाई छ । भक्तपुरमा रहेको समृद्धि कलेजको सह–आयोजनामा बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा सो कार्यक्रम आयोजना गरेको हो ।