काठमाडौं। अमेरिका र इरानबीच मध्यपूर्वमा जारी सैन्य तनाव थप चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ। खाडी क्षेत्रमा इरानले आक्रमण विस्तार गर्नुका साथै अमेरिकाले पनि इरानमाथि थप सैन्य कारबाही गरेपछि ऊर्जा आपूर्तिमा अवरोध आउन सक्ने चिन्ताले तेल बजार प्रभावित भएको हो।
सोमबार कारोबारका क्रममा उत्तर सागर क्षेत्रको कच्चा तेलको मूल्य प्रतिब्यारेल २ डलर ३४ सेन्ट अर्थात् ३.०८ प्रतिशतले बढेर ७८ डलर ३५ सेन्ट पुगेको छ। त्यसैगरी अमेरिकी कच्चा तेलको मूल्य प्रतिब्यारेल २ डलर २१ सेन्ट अर्थात् ३.०९ प्रतिशतले वृद्धि भई ७३ डलर ६२ सेन्ट पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सप्ताहन्तमा इरानले कतार र संयुक्त अरब इमिरेट्सतर्फ आक्रमण विस्तार गरेको थियो भने अमेरिकाले पनि इरानमाथि थप आक्रमण गरेको थियो। होर्मुज जलडमरूमध्य हुँदै हुने जलमार्गीय आवागमनलाई लिएर दुवै पक्षबीच आक्रमण र प्रतिआक्रमणको श्रृङ्खला जारी छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार होर्मुज जलडमरूमध्य व्यावसायिक जहाज आवागमनका लागि खुला रहेको बताएका थिए। तर इरानले स्वीकृत मार्गभन्दा बाहिर गएको एक जहाजमाथि आक्रमण गरिएपछि उक्त जलडमरूमध्य बन्द गरिएको घोषणा गरेको थियो।
जहाज निगरानीसम्बन्धी तथ्याङ्कअनुसार आइतबार होर्मुज जलडमरूमध्यबाट केवल छवटा जहाज मात्रै आवतजावत गरेका छन्, जुन पछिल्ला पाँच सातायता कै सबैभन्दा न्यून संख्या हो। विश्व ऊर्जा व्यापारको महत्वपूर्ण मार्ग मानिने यस जलडमरूमध्यमा बढ्दो अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा थप दबाब सिर्जना गरेको छ।
बढ्दो तनावले गत महिना अमेरिका र इरानबीच भएको अस्थायी सहमतिमाथि पनि प्रश्न उठाएको छ। उक्त सहमतिले जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने तथा थप ६० दिनको वार्तापछि युद्ध अन्त्य गर्ने लक्ष्य राखेको थियो।
अन्तर्राष्ट्रिय ऊर्जा निकायले हालै सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार उक्त सहमतिपछि जुन महिनामा विश्वव्यापी तेल आपूर्ति दैनिक ४१ लाख ब्यारेलले बढेको थियो। तथापि, यो परिमाण युद्धअघिको अवस्थाभन्दा अझै दैनिक ९४ लाख ब्यारेलले कम रहेको जनाइएको छ।
अष्ट्रेलिया तथा न्युजिल्यान्ड बैंकका विश्लेषकहरूले हालैको तनाव चाँडै समाधान हुने अपेक्षा सप्ताहन्तका घटनापछि कमजोर बनेको बताएका छन्। उनीहरूका अनुसार मध्यपूर्वमा पुनः अस्थिरता बढ्दै जाँदा ऊर्जा बजारमा अनिश्चितता थप गहिरिने सम्भावना छ।
बजार विश्लेषक टोनी सिकामोरले तेलको मूल्यमा देखिएको सीमित वृद्धि हेर्दा लगानीकर्ताहरूले हालको अवस्थालाई कमजोर युद्धविरामभित्रको तनाव वृद्धिका रूपमा लिएको देखिएको बताए। उनका अनुसार अहिलेको अवस्था पूर्ण रूपमा युद्धविराम भङ्ग भएको संकेत नभए पनि आगामी घटनाक्रमले बजारको दिशा निर्धारण गर्नेछ।