काठमाडौं । नियामक बिमा समितिले पटक–पटक बिमांकीय मूल्यांक (एक्चुरी) नियुक्ति गर्न दिएको निर्देशनलाई गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवज्ञा गरेको छ । अन्य जीवन बिमा कम्पनीहरूले एक्चुरी नियुक्त गरिसक्दा गुराँस लाइफले गरेको छैन ।
बिमा समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले अन्य कम्पनीहरूले एक्चुरी सहजै पाउँदा गुराँस लाइफले नपाउने अवस्था नहुने बताउँछन् ।
कार्यकारी निर्देशक पौडेल भन्छन्, ‘अरू बिमा कम्पनीहरूले एक्चुरी सजिलै पाउने तर गुराँस लाइफले मात्रै नपाउने भन्ने कुरा त हुँदैन, हामीले जतिसक्दो चाँडो एक्चुरी नियुक्त गर्नका लागि गुराँस लाइफलाई निर्देशन दिइसकेका छौं । कम्पनीले निर्देशनको पालन गर्दैै तत्काल एक्चुरी नियुक्ति गर्ने हाम्रो विश्वास छ ।’
गुराँस लाइफले एक्चुरी नियुक्तिसम्बन्धी आवश्यक काम भइरहेको जानकारी दिएको छ । सकेसम्म छिटो एक्चुरी नियुक्त गर्न आफूहरू लागिरहेको कम्पनीले जानकारी दिएको छ । तर, कम्पनीले कहाँ समस्या छ भन्ने विषयमा खुलाएको छैन ।
गुराँस लाइफका सूचना अधिकारी बोधलाल पुरीले एक्चुरीको अभावमा आफ्ना वित्तीय सूचकहरूमा असर पर्ने हो कि भन्ने विषयमा कम्पनी सचेत नै छ । ‘गत मंसिर ४ गते आर्थिक वर्ष २०७४०७५ को साधारणसभा हामीले सम्पन्न गरिसकेका छौं, हाम्रो भ्यालुसन समयमै गर्नुपर्छ भन्ने कुरामा पनि हामी सचेत रहेका छौं,’ गुराँसका सूचना अधिकारी पुरीले भने ।
एक्चुरी अभाव हुँदा कम्पनीलाई पर्ने असर
जीवन बिमा कम्पनीहरूले हरेक वर्ष आफ्नो भ्यालुयसन गर्नुपर्छ । सो भ्यालुयसन एक्चुरी बाहेक अरूले गर्न मिल्दैन । एक्चुरी भ्यालुयसनले बिमा कम्पनीहरूले निर्धारण गर्ने बोनस दर, नाफा नोक्सान, सेयरधनीलाई लाभांश, कम्पनीले निकाल्ने प्रोडक्ट, प्रोडक्टका दर, बोनस दरलगायत कम्पनीका ओभर अल भ्यालुयसन गर्न एक्चुरीको आवश्यकता हुन्छ ।
जीवन बिमा कम्पनीहरूले प्रत्येक वर्ष गर्ने भ्यालुयसनमा एक्चुरी अभाव हुँदा मुख्य कामहरू अघि बढ्न पाउँदैनन् । बिमा कम्पनीहरूले आफ्नो एक्चुरीमार्फत गरिएको एक्चुरीयल भ्यालुयसन हरेक वर्ष बिमा समितिमा बुझाउनुपर्छ । कम्पनीहरूले बुझाएको भ्यालुयसनलाई बिमा समितिको एक्चुरीले फेरि हेर्ने गर्छ ।
हरेक जीवन बिमा कम्पनीहरूले आफ्नै एक्चुरी नियुक्त गर्नुपर्छ । बिमा समितिले उक्त एक्चुरीले पास गरेको विवरण चेकजाँच गर्न फेरि आफ्नो एक्चुरी खटाउने गर्छ ।
एक्चुरीले कुनै एउटा प्रोडक्ट विशेष भ्यालुयसन गरी त्यसको वर्तमान अवस्था र भविष्यको आँकलन निकाल्ने गर्छन् । त्यस्तै, एक्चुरीले कम्पनीकै भविष्यको पनि आँकलन गर्ने गर्छन् ।
बिमाशुल्क तोक्नका लागि पनि एक्चुरीकै आवश्यकता पर्ने गर्छ । मृत्यु दरका आधारमा जीवन बिमा कम्पनीहरूले ल्याएको प्रोडक्ट फाइदाजनक छ कि छैन भन्ने पत्ता लगाउने क्षमता एक्चुरीमा मात्रै हुन्छ । सोही क्षमताका आधारमा कति प्रतिशत बोनस दर तोक्दा कम्पनी र बिमितका लागि उपयुक्त हुन्छ भन्ने कुरा एक्चुरीले निर्धारण गर्छन् ।
यसरी जीवन बिमा कम्पनीमा महत्वपूर्ण भूमिका खेल्ने एक्चुरीको अभाव सिर्जना नगर्न बिमा समितिले गुराँस लाइफलाई पत्र काटेको हो ।
केही नयाँ बिमा कम्पनीहरूले एक्चुरीको दर भाउ महँगो हुने भएकाले भन्ने बित्तिकै एक्चुरी नियुक्त गर्न असहज हुने बताएका छन् ।