काठमाडौं । बजार पुँजीकरणका हिसावले बैंकको बजार हिस्सा विस्तारै घट्दै गएको छ । तीन वर्ष अघिसम्म सेयर बजारमा बैंकको हिस्सा ५२.९ प्रतिशत थियो । तर, अहिले घटेर ३०.८ प्रतिशतमा सीमित भएको छ ।
कुनै समय सेयर बजारमा बैंकको मात्रै दबदबा थियो । तीन वर्ष अघिसम्म सेयर बजारमा वाणिज्य बैंक र विकास बैंकले मात्रै ५८ प्रतिशत बजार हिस्सा ओगटेका थिए । तीन वर्षअघि विकास बैंकको मात्रै बजार हिस्सा ५.३ प्रतिशत थियो । तर, अहिले ति दुवै क्षेत्रको बजार हिस्सा विस्तारै घट्दै गइरहेको छ । अहिले विकास बैंकको बजार हिस्सा ३.३ प्रतिशतमा झरेको छ ।
वाणिज्य बैंक र विकास बैंकको बजार हिस्सा घटिरहेका बेला बिमा कम्पनीको बजार हिस्सा भने निरन्तर अघि लागेको छ । तीन वर्ष अघिसम्म जीवन र निर्जीवन बिमा कम्पनीको बजार हिस्सा करिब १५ प्रतिशत हाराहारी थियो ।
यसमध्ये जीवन बिमातर्फ ७.३ र निर्जीवन बिमातर्फ ७.९ प्रतिशत बजार हिस्सा थियो । तर, चालू आबमा जीवन बिमाको बजार हिस्सा १२.२ प्रतिशत र निर्जीवन बिमाको बजार हिस्सा ११.९ प्रतिशत पुगेको छ । बजार पुँजीकरणका हिसावले जीवन र निर्जीवन बिमाको कुल बजार हिस्सा २३.११ प्रतिशत पुगेको छ ।
विकास बैंकहरु एकआफसमा मर्ज हुने वा वाणिज्य बैंकसँग गाभिएकाले उनीहरुको बजार हिस्सा कम हुँदै गएको हो । बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु भएपछि २०७७ पुस मसान्तसम्म २१३ बैंक तथा वित्तीय संस्थाहरु यस प्रक्रियामा सामेल भई १५१ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका छन ।
त्यसैगरी १० वटा जीवन बिमा कम्पनी थपिएको र ती कम्पनीहरु धमाधम सूचीकृत हुन थालेपछि बिमा कम्पनीहरुको बजार हिस्सा विस्तारै बढ्दै गएको हो । नयाँ कम्पनीहरुको प्रवेश हुने बित्तिकै भइरहेका कम्पनीका सेयर हिस्सा स्वत खुम्चिएर जान्छ ।
नयाँ खुलेका १० वटा कम्पनीमध्ये प्रभु लाइफ इन्स्योरेन्स र रिलाइन्स लाइफ इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सूचीकृत छन् । अझै ८ वटा कम्पनी नेप्सेमा सूचीकृत हुन बाँकी छन् । ती कम्पनी सूचीकृत हुने बित्तिकै बिमातर्फको बजार हिस्सा धेरै माथि पुग्ने देखिन्छ । तर, नयाँ बैंक खुल्ने सम्भावना नभएकाले बैंकको बजार हिस्सा बढ्ने भन्दा घट्ने नै देखिन्छ ।
त्यसैगरी उत्पादनमुलक तथा प्रशोधनले पनि पुँजीकरणका हिसावले आफ्नो हिस्सा बढाएको छ । तीन वर्षअघिसम्म शून्य दशमलव ४ प्रतिशत रहेको उत्पादनमुलक तथा प्रशोधनको बजार हिस्सा अहिले ५.४ प्रतिशत पुगेको छ । यो समूहको पनि बजार हिस्सा विस्तारै बढ्दै जाने देखिन्छ । पछिल्लो समय सर्वोत्तमले बुक विल्डिङमार्फत प्रिमियम दरमा सेयर जारी गर्ने तयारी गरेको छ ।
त्यसैगरी अर्घाखाँची सिमेन्टले पनि सेयर जारी गर्नका लागि आवश्यक तयारीमा जुटेको छ । यी कम्पनी नेप्सेमा सुचीकृत भएपछि उत्पादनमुलक तथा प्रशोधनको बजार हिस्सा बढ्नेछ ।
त्यसैगरी, जुलविद्युत् समूहको बजार हिस्सा पनि तीन वर्ष अघिसम्म ४.४ प्रतिशत थियो । अहिले १०.५ प्रतिशत पुगेको छ । यो समूहको बजार हिस्सा पनि निरन्तर बढ्दोक्रममा देखिएको छ । नयाँ नयाँ आयोजनाले सेयर जारी गर्ने प्रक्रिया सुरु गरेका छन् । नयाँ नयाँ जलविद्युत कम्पनी थपिने बित्तिकै यसको बजार हिस्सा स्वत् वृद्धि हुँदै जान्छ ।