काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता स्वास्थ्य बिमा बोर्डले नागरिकबाट ३ अर्ब रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । यसैबीचमा बोर्डले ८ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ । स्वास्थ्य बिमाका लागि सरकारले यस आर्थिक वर्षमा ७ अर्ब रुपैयाँ बोर्डलाई दिएको छ ।
अघिल्लो आर्थिक वर्षमा सरकारले ६ अर्ब रुपैयाँ बिमाशुल्क बोर्डलाई दिएको थियो । स्वास्थ्य बिमा योजना २०७२ चैत २५ गतेबाट सुरु भएको हो । कैलालीबाट सुरुआत गरिएको यो योजना त्यसपछि बाग्लुङ र इलाम हुँदै अहिले ६७ जिल्लामा विस्तार भएको बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले जानकारी दिए ।
उनले अब थप १० जिल्लामध्ये दुई जिल्लामा विस्तारको क्रममा रहेको बताए । संकलित बिमाशुल्क कोष तथा नियन्त्रक कार्यालयमा छ । स्वास्थ्य बिमा ऐनअनुसार सो रकम बिमा बोर्डले आफ्नो कोषमा राख्न पाउने व्यवस्था छ ।
सरकारले जनताको स्वास्थ्य उपचारका लागि सामाजिक उत्तरदायित्वअनुसार स्वास्थ्य बिमा योजना लागू गरेको हो । यसमा गरिबीको रेखामुनि रहेका नागरिकको स्वास्थ्य बिमा निःशुल्क हुन्छ । सरकारले नै बिमाशुल्क तिरिदिने भएकाले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकको हकमा स्वास्थ्य बिमा निःशुल्क छ ।
यस्तै, विपन्न नागरिक, एचआईभी एड्स संक्रमित नागरिक, कुष्ठरोग लागेका नागरिकले पनि स्वास्थ्य बिमाका लागि शुल्क बुझाउनु पर्दैन । बिमा बापतको रकम कुनै रोग विशेषलाई नभई साधन र स्रोतले भ्याएसम्म सबै प्रकारका रोगलाई दिइने गरेको बोर्डको भनाइ छ । ओपीडी सेवा, ल्याब र औषधिसम्म सेवा पाइन्छ ।
५ जना सदस्यको परिवारले ३ हजार ५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा गर्न सक्छन् । सो बिमाको अवधि एक वर्ष तोकिएको छ । स्वास्थ्य बिमाको बिमांक १ लाख रुपैयाँ छ ।
५ जनाभन्दा बढीको बिमा गर्नु परेमा एक सदस्यको ७ सय रुपैयाँको बिमाशुल्क लाग्छ । उक्त बिमाशुल्क १० जनाको परिवारलाई मात्र बिमा गर्न मिल्छ । १० जनाभन्दा बढी सदस्यको बिमा गर्न मिल्दैन । बोर्डले बिमा विस्तार, प्रवद्र्धन र भविष्यमा छरिएका बिमालाई एकद्धार प्रणालीमा लग्ने भएको छ ।
यस्तै, बिमा सेवालाई छिटोछरितो बनाउने तथा सूचना प्रविधिका संरचना बिस्तारमा जुट्ने बोर्डको लक्ष्य छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा ७७ वटै जिल्लामा पुग्ने लक्ष्य लिएको बोर्डले यही २०७७ सालको अन्तिमसम्ममा नै सो लक्ष्य हासिल हुने जनाएको छ ।
गत आर्थिक वर्षको अन्तिमसम्ममा स्वास्थ्य बिमाको पहुँच १० प्रतिशत थियो । सो पहँुच हाल १४ प्रतिशत छ । आगामी असार मसान्तसम्ममा स्वास्थ बिमाको पहुँच ४० प्रतिशत पुर्याउने बोर्डले जनाएको छ ।
बसौलाले स्वास्थ बिमाको विस्तारका साथै यसको गुणस्तरमा ध्यान दिने बताए । स्थायी संरचनाहरु तयार भएपछि स्वास्थ्य बिमाको गुणस्तर तथा प्रभावकारितामा वृद्धि हुने कार्यकारी निर्देशक बसौलाको भनाइ छ ।अहिले स्वास्थ्य बिमा बोर्डको आफ्नै संरचना छैन । बिमाको बिस्तार अनुसार जनशक्ति पनि वृद्धि गर्न आवश्यक रहेको बोर्डले जनाएको छ ।