काठमाडौं । विघठित प्रतिनिधि सभा पुनःस्थापना भएसँगै सेयर बजार घट्ने (करेक्सन) हुने हल्ला चलेपछि बिहीबार नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा पहिरो गएको छ ।
मंगलबार साझ सर्वोच्च अदालतको सवैधानिक इजलासले प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णय गरेको थियो । त्यो सँगै बजार घट्ने व्यापक हल्ला चलाइएको असर बिहीबारको सेयर बजारमा परेको छ ।
यद्यपि, केही समयदेखि यताको सेयर बजारलाई हेर्ने हो भने बजार घट्नुपर्ने वा बढ्नुपर्ने तार्किक कारणहरु भने छैन । ब्याजदर न्यून बिन्दूमै छ । लगानीको वातावरणमा कुनै सुधार छैन् । रेमिट्यान्स आयातमा कमी आएको छैन् । औद्योगिक उत्पादन लकडाउन अवधिको सुधार छ । कृषि उत्पादनमा कमि आएको छैन् । सरकारी पुँजीगत खर्चको अवस्था पनि विगत वर्षहरुमा जस्तै छ ।
तथापि, पछिल्लो समय बजार निरन्तर बढिरहेको थियो । तर, प्रतिनिधि सभा पुनःस्थापना भएपछि भने सेयर बजार सूचक करेक्सनमा जाने र यो २३०० अंकसम्म झर्ने बजारमा भित्र भित्रै भुसको आगोसरी फैलिएको छ । त्यसलाई केही लगानीकर्ता र धितोपत्र दलाल व्यवसायीहरुले मलजल गरिरहेका छन् ।
यद्यपि, कतिपय ठूला लगानीकर्ताहरुले कुराकानीका क्रममा यसलाई सामान्य करेक्सनका रुपमा लिँदै बजार अझै उचालिने बताइरहेका छन् । खासगरी, प्रतिनिधि सभा पुनःस्थापना भएपछि सरकार कसको बन्ने ? कस्तो बन्ने ? उसले लिने नीतिगत आधार कस्तो हुने भन्ने कुरामा लगानीकर्ताहरु आंशकित छन् ।
वर्तमान अर्थमन्त्री विष्णु पौडेल आएसँगै उत्साहित बनेको बजार यस्तै अर्थमन्त्रीको पर्खाइमा रहेको बुझ्न सकिन्छ । यद्यपि, यो राजनीतिक अन्यौलता कति लामो जान्छ भन्ने टुङ्गो छैन् । सरकार फेरिएसँगै आर्थिक नीति (वित्त) र मौद्रिक नीतिमा पनि आगामी आर्थिक वर्षमा कडाइ गर्ने आंशका पनि यदकदा व्यक्त हुन थालेको छ । खासगरी, लगानीकर्ताको चासो कर्जाको सीमा, सेयर गणना विधि र अनिवार्य नगद मौज्दात (सीआआर) सँगै कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी)मा हुन सक्ने परिवर्तनका हल्ला समेत अहिले चलाउन थालिएको छ ।
यसले कतिपय लगानीकर्तामा त्रास सिर्जना गरिएको छ । र त्यसैको असर पनि आगामी दिनमा बजारमा पर्न सक्छ । यद्यपि, यी कुरा बजारलाई खेलाउने केही लगानीकर्ताको सीमित स्वार्थ मात्रै हो । ५ महिना पछि कस्तो नीति आउँछ भन्ने अनुमान गरेर अहिले देखि नै सेयर बजारमा लगानी हुँदैन । सेयर बजारमा यस्ता कतिपय कुरा सीमित अवधिमा मात्रै लागू हुन्छ ।
साताको पहिलो दिन हालसम्मकै उच्च २६४० अंकमा पुगेको नेप्से अन्तिम दिन आइपुग्दा ८६ अंकले घटेर २५५४.१३ अंकमा सीतिम भएको छ । बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ । यसदिन ६ अर्ब ९ करोड ८१ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो बुधबारको तुलनामा कम हो । बुधबार ६ अर्ब ७० करोडको सेयर किनबेच भएको थियो ।
यद्यपि, बुधबार र बिहीबार भएको कारोबार रकम यसअघि निरन्तर भएको कारोबार रकम साढे १० अर्बको भन्दा निकै कम हो । रकममा आएको गिरावटले बजार अझै झर्छ भन्ने अनुमानलाई सहयोग गरिरहेको छ । तर, बजार भने नेपाल इन्फास्टक्चर बैंक (निफ्रा)ले चलाइरहेको छ । बुधबार पनि निफ्राकै वरिपरी घुमेको बजार बिहीबार पनि उसैको वरीपरि घुमेको छ । कारोबार रकम कम हँुँदा पनि लगानीकर्ता निफ्रामा झुम्मिएका छन् ।
बिहीबार निफ्राको मात्रै ९० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कुल कारोबारको करिब १५ प्रतिशत हो । निफ्रालाई पच्छयाएको नबिल बैकको भने २१ करोड ६० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बजारमा ठूलो गिरावट देखिए पनि बिहीबार चन्द्रागिरि हिल्स्, नेसलन हाइड्रो पावरको भने सेयर मूल्यमा उच्च वृिद्ध भएको छ । यी दुई कम्पनीसँगै २० कम्पनीको मूल्य सामान्य वृद्धि भएको छ । बजार ठूलो अंकले घट्दा पनि सबैभन्दा बढी सेयर मूल्य घट्ने सनराइज फस्ट म्युचुअल फन्डको मूल्य ६.८४ प्रतिशतले मात्रै घटेको छ । अन्य कम्पनीहरुको सेयर मूल्य साढे ५ प्रतिशत भन्दा कम मूल्य घटेको छ ।