काठमाडौं । कोरोना भाइरस (कोभिड)बाट थला परेका व्यवसायलाई सञ्चालन पुँजीमा १० प्रतिशत बढाएर ऋण दिएपछि कर्जा विस्तार देखिएको छ । नेपाल राष्ट्र बैंकले कोभिडबाट थला परेका व्यवसायलाई माथि उकास्न चालू आर्थिक वर्षमा त्यस्ता व्यवसायलाई सञ्चालन पुँजीमा थप १० प्रतिशत ऋण दिन सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थालाई अनुशरण गरेर बैंकले ऋण लगानी गर्दा कर्जा विस्तार देखिएको हो ।
बैंकहरुले नयाँ क्षेत्रमा लगानी गर्नुभन्दा पनि त्यस्ता व्यवसायलाई अतिरित्त १० प्रतिशत ऋण थपिदिएकाले कर्जामा सुधार आएको देखिएको हो । त्यसैगरी, बैंकबाट नयाँ कर्जा प्रवाह हुनु भन्दा पनि एक बैंकको ऋणी अर्को बैंकमा सरेको अर्थात कर्जा स्वाप गरेकाले ऋण प्रवाह बढेको देखिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार नयाँ क्षेत्रमा कर्जा प्रवाह भएको छैन् ।
विगतमा महिना भन्दा कर्जाको विस्तारमा केही सुधार भए पनि सोचेअनुरुप नयाँ क्षेत्रबाट कर्जामा माग नभएको बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाल बताउँछन् । उनका अनुसार फागुन पहिलो साता ३३ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ । यो फागुन पहिलो सातामा कर्जा विस्तार १८ अर्ब रुपैयाँले बढेको छ ।
‘तर, त्यो अधिकांश कर्जा प्रवाह गत वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले कमी हो’ उनले भने, ‘एक बैंकबाट अर्को बैंकमा ऋण सार्ने, सञ्चालन पुँजी १० प्रतिशत दिने गरिएकाले कर्जा विस्तार भएको हो कि भन्ने देखिएको हो ।’
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी तथ्यांक हेर्दा पहिलाको तुलनामा कर्जा वृद्धि देखिए पनि सन्तोषजनक नरहेको बताउँछन् । बैंकको कर्जा प्रवाह पहिलाको लयमा भन्दा पनि अझै दु्रत गतिमा बढ्नुपर्ने उनको तर्क छ ।
‘कोरोना कालमा ठप्प रहेका केही होटेलहरू पनि सञ्चालनमा आएका छन् । बाह्य पर्यटक पहिलाको जस्तो नआए पनि अहिले आन्तरिक पर्यटकले होटेल तथा रेस्टुराँ खचाखच हुन थालेका छन्,’ उनले भने, ‘अर्थतन्त्र पूर्णरूपमा चलायमान भइसक्यो । अर्थतन्त्र वृद्धि हुन थाले बैंकको कर्जा त स्वतः वृद्धि भइहाल्छ ।’