काठमाडाैं। विश्वभर ठूला-ठूला व्यापारिक सम्झौता र लगानीका रकमहरू दिनप्रतिदिन विशाल हुँदै गएका छन्। गत जुन १२ मा एलन मस्कको रकेट कम्पनी स्पेसएक्सले सार्वजनिक सूचीकरणमार्फत ८६ अर्ब डलर उठाएको थियो। त्यसको ठीक चार दिनपछि नै कम्पनीले ६० अर्ब डलरमा कृत्रिम बुद्धिमत्ता (एआई) कोडिङ स्टार्टअप कर्सर खरिद गर्ने घोषणा गर्यो। त्यही दिन चिनियाँ एआई ल्याब डिपसिकले पनि ७ अर्ब डलर लगानी भित्र्याएको जानकारी दियो। जुन चीनको इतिहासकै चौथो ठूलो भेन्चर क्यापिटल लगानी हो।
डेटा प्रदायक कम्पनी डिलोजिकका अनुसार, यस वर्ष १० अर्ब डलरभन्दा माथिका ठूला मर्जरहरूले कुल सम्झौता मूल्यको ४८ प्रतिशत ओगटेका छन्, जुन अहिलेसम्मकै उच्च तह हो। त्यस्तै, पिचबुकको तथ्याङ्क अनुसार १ अर्ब डलरभन्दा माथिका लगानीले यस वर्ष कुल भेन्चर क्यापिटल फन्डिङको ६१ प्रतिशत ओगटेका छन् र यीमध्ये पाँचमा चार चरणमा कर्पोरेट लगानीकर्ता संलग्न रहेका छन्।
विदेशी प्रत्यक्ष लगानी (एफडीआई) मा पनि उस्तै प्रवृत्ति देखिन्छ। एफडीआई मार्केट्सका अनुसार, सन् २०२४ देखि १ अर्ब डलरभन्दा माथिका ग्रीनफिल्ड एफडीआई परियोजनाहरूले कुल लगानीको ४२ प्रतिशत ओगटेका छन्, जुन सन् २०१६-१८ मा जम्मा २८ प्रतिशत मात्र थियो।
केन्द्रविन्दुमा अमेरिका, तर लहर विश्वव्यापी
यस प्रवृत्तिको केन्द्रमा प्रायः अमेरिका नै रहेको छ। गत वर्ष अमेरिका १ अर्ब डलरभन्दा माथिका एफडीआई परियोजनाहरूको सबैभन्दा ठूलो गन्तव्य र स्रोत दुवै थियो। सन् २०२४ यता सबैभन्दा ठूलो लगानी पाउने १५ स्टार्टअपमध्ये १४ वटा अमेरिकाकै हुन्। तैपनि यो प्रवृत्ति अन्य क्षेत्रमा पनि फैलिएको छ। गत वर्ष ताइवान ठूला एफडीआई सम्झौताको दोस्रो ठूलो स्रोत बन्यो भने संयुक्त अरब इमिरेट्स र चीन पनि यसमा उल्लेखनीय रहे। सिंगापुरको डेटा सेन्टर सञ्चालक कम्पनी वनडेले जुनमा ५ अर्ब डलर लगानी भित्र्यायो भने बेलायती प्रतिस्पर्धी एनस्केलले मार्चमा २ अर्ब डलर लगानी पायो।
विश्लेषकहरूका अनुसार यसमा मुख्य चार कारणले लगानी बढिरहेकाे छ। पहिलो, कम्पनीहरूसँग पर्याप्त नगद उपलब्धता। अमेरिकी एस एन्ड पी ५०० सूचीका कम्पनीहरूको नगद सञ्चिति २.२ ट्रिलियन डलर पुगिसकेको छ, र यी कम्पनीहरूको नाफा पनि जीडीपीको तुलनामा ऐतिहासिक उच्च स्तरमा छ। यसैले कम्पनीहरूलाई ठूला अधिग्रहण र लगानीका लागि बढी आर्थिक स्रोत उपलब्ध भएको छ। गुगलको मूल कम्पनी अल्फाबेटले जुन १ मा ८० अर्ब डलरको सेयर बिक्री गर्ने घोषणा गरेको थियो।
दोस्रो, एआई उद्योगको रफ्तार। अल्फाबेट, अमेजन, मेटा, माइक्रोसफ्ट र ओरेकल जस्ता ठूला प्रविधि कम्पनीहरूले डेटा सेन्टर निर्माणका लागि यस वर्ष झन्डै ८०० अर्ब डलर खर्च गर्ने अपेक्षा गरिएको छ र यीमध्ये धेरैले एआई स्टार्टअपहरूमा पनि ठूलो लगानी गरिरहेका छन्।
तेस्रो, राजनीतिक अवस्था। अमेरिकामा ट्रम्प प्रशासन ठूला मर्जरप्रति पहिलेभन्दा उदार देखिएको छ भने युरोपेली संघले पनि आफ्ना कम्पनीहरू पछि नपरून् भनेर मर्जर मार्गदर्शन खुकुलो बनाएको छ। साथै धेरै देशले संरक्षणवादी नीति अपनाई कम्पनीहरूलाई स्वदेशमै वा नयाँ क्षेत्रमा उत्पादन विस्तार गर्न प्रोत्साहन गरिरहेका छन्। जस्तै ताइवानी सेमिकन्डक्टर कम्पनी टीएसएमसीको एरिजोनास्थित चिप प्लान्ट वा चिनियाँ इलेक्ट्रिक भेइकल कम्पनी बीवाईडीको हंगेरीस्थित कारखाना।
चौथो, अनिश्चित व्यापारिक वातावरणले "ठूलो हुनु नै सुरक्षित हुनु हो" भन्ने मानसिकतालाई बढावा दिएको छ। म्याकिन्जी कन्सल्टिङका जेक हेनरीका अनुसार धेरै कम्पनीका बोर्डरूममा अहिले "ठूलो हुनु राम्रो" भन्ने धारणा हावी छ। लगानीकर्ताहरूले पनि ठूला कम्पनीका सेयरलाई उच्च मूल्याङ्कन दिन थालेका छन्। सन् २०१९ मा ठूला कम्पनीको मूल्य-आम्दानी अनुपात १८ रहेकोमा अहिले २६ पुगेको छ।
कन्सल्टिङ कम्पनी बेनका अनुसार गत वर्षका लगभग आधा ठूला मर्जरमा लक्षित कम्पनीको मूल्य खरिदकर्ताको बजार पूँजीकरणको ५० प्रतिशतभन्दा बढी रहेको थियो, जसले ठूलो ऋणको जोखिम बोकेको हुन्छ। अमेजन जस्ता ठूला प्रविधि कम्पनीहरूले पनि डेटा सेन्टर निर्माणका लागि बढ्दो रूपमा ऋण लिन थालेका छन्, जसले तिनको ऋण-नगद प्रवाह अनुपातलाई बिग्रँदै लगेको छ।
डोइच बैंकका अनुसार अमेरिकामा सूचीकृत कम्पनीहरूको माथिल्लो १० प्रतिशतले अहिले कुल बजार पूँजीकरणको तीन-चौथाइभन्दा बढी हिस्सा ओगटेका छन्, जुन एक शताब्दीयताकै सबैभन्दा उच्च तह हो। यसको अर्थ, कुनै एउटा ठूलो ऋणग्रस्त कम्पनी असफल भयो भने त्यसले सम्पूर्ण वित्तीय बजारमा ठूलो हलचल ल्याउन सक्छ।
यसबाहेक, बढ्दो कर्पोरेट एकाधिकारले उपभोक्ता, कामदार र साना आपूर्तिकर्तालाई थिचोमिचो गर्न सक्ने र सरकारहरू ठूला कम्पनीका लबिइस्टहरूबाट प्रभावित हुन सक्ने खतरा पनि रहेको छ, जसले दुवै राजनीतिक धारका लोकरिझ्याइँवादी शक्तिलाई थप बल पुर्याउन सक्छ।
सर्वेक्षणअनुसार ठूला व्यवसायमाथि विश्वास गर्ने अमेरिकीको संख्या सन् २००० यताको तुलनामा झन्डै आधा घटेर अहिले जम्मा १५ प्रतिशतमा झरेको छ। विश्व अर्थतन्त्र अहिले "ठूलो नै राम्रो" भन्ने मान्यताको लहरमा बगिरहेको छ, तर यसले भविष्यमा वित्तीय स्थिरता र सामाजिक विश्वासमा गम्भीर चुनौती खडा गर्न सक्ने विश्लेषकहरूको भनाइ छ।