काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरास्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा पोखरा कै सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्युआरकोड सेवा सञ्चालनमा ल्याएको छ ।
डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका ३ स्थानमा एकैपटक सुरु भएको हो । नेपाल राष्ट्र बैंकका कायम मुकायम निर्देशक पुस्कर सुर्खाली र माछापुच्छ्रे बैंकका सञ्चालक रोशन केसीले संयुक्त रुपमा क्युआरकोडको सुरुवात गरेका हुन् ।
सेवा सञ्चालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन् ।
त्यसैगरी पोखरेली ट्याक्सी व्यवसायीअन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्युआर कोडको प्रयोग गरी ट्याक्सी भाडा तिर्न सक्नेछन् ।
बैंकका निर्देशक सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले शुक्रबारबाटै आफ्ना हरेक कारोबार डिजिटल भुक्तानिमार्फत गर्न आमउपभोक्तालाई आग्रह गरे । ग्राहकले क्युआरकोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआरकोडको प्रयोग आममानिसमा बढ्दै गएको छ । पोखरामा सुरु गरिएको क्युआरकोड सेवाको साथै माछापुच्छ्रे बैंकको क्युआरकोड उपलब्ध भएका व्यावसायिक स्थान वा प्रतिष्ठानहरूको संख्या करिब ९ हजार पुगेको छ ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मसियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरू जस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एंव मुद्दती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।