नयाँदिल्ली, भारत । भारतीय व्यवसायीहरुले निजी क्षेत्रबाट साझा रुपमा लगानी गरेर व्यापार बढाउनका दुई देशका व्यवसायीले मार्गचित्र (रोडम्याप) बनाउनुपर्ने बताएका छन् ।
भारतीय वाणिज्य एंव उद्योग महासंघ (फिक्की) मा आबद्ध व्यवसायीहरुले नेपालका आर्थिक पत्रकारहरुसँग नयाँ दिल्लीमा गरेको छलफलमा व्यवसायीहरुले नेपालमा अझै भारतीय लगानी तीव्रत्तर रुपमा बढ्ने र त्यसका लागि स्थिरता हुन आवश्यक रहेको समेत बताए ।
कोभिडपछि पहिलो ‘फिजिकल मिटिङ’ नेपालका पत्रकारहरुसँग गर्दै व्यवसायीहरुले नेपाल र भारतबीचको क्रसबोर्डर व्यापार नयाँ उचाईमा पुगिरहेको र अझै साझा लगानी र व्यापारमार्फत सार्क क्षेत्रमा संयुक्त फाइदा लिनुपर्ने बताएका हुन् ।

फिक्की साउथ एसिया क्षेत्रिय परिषदका अध्यक्ष एवं महिन्द्रा एण्ड महिन्द्रा गु्रपका मनोज चुगले पानी र उर्जामा नेपाल र भारतले गर्न सक्ने संभावना धेरै रहेको बताए । साउथ एसियामा पहिलो पटक क्रसबोर्डर पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आयात निर्यात भएको छ, यस्तो प्रकार अरु संभावना अझै भएकाले साझा रोडम्याप बनाउनुपर्छ, उनले भने ।
अहिले विश्वमा ब्लू इकोनोमीको चर्चा पनि भैरहेको छ, भारत र नेपालका लागि पनि यो एउटा महत्वपूर्ण विषय हो, उर्जामा गम्भीर भएर सोच्नुपर्ने र लगानी गर्नुपर्ने उनले बताए ।
छलफल कार्यक्रममा एस ट्राक्टर तथा कन्स्ट्रक्सन इक्यूपमेन्टका सीओओ अशोक अनन्थरमनले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र विदेशी लगानीको सबैभन्दा ठूलो स्रोत भएकाले भारतीय लगानीकर्ता नेपालमा जहिले पनि लगानी गर्न इच्छुक रहेको बताए ।
अहिले कोभिडले भारत र नेपालमा अर्थतन्त्रमा साझा समस्या परेको छ, स्थानीयहरुको रोजगार गुमेको बेला हामी नेपालका ग्रामिण क्षेत्रका स्थानियलाई सीप दिन समेत तयार छौं, उनले भने ।
भारतले नेपालको दुई तिहाई, सेवा व्यापारको एक तिहाई, वैदेशक प्रत्यक्ष लगानीको एक तिहाइ, पेट्रोलियम आपूर्तिको झन्डै १०० प्रतिशत र निवृत्तिभरण, पेसाकर्मी र खातामा आन्तरिक रेमिट्यान्सको उल्लेखनीय हिस्सा रहेको अनन्थरमनले बताए ।
भारत ‘नेबरहुड फस्र्ट’ नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेकोले आर्थिक सम्बन्ध सुदृढ पार्नु दुवै देशहरुको लागि महत्वपूर्ण कुरा भएको उनले बताए ।
व्यवसायी राजन मल्होत्राले भारतका १५० भन्दा धेरै ठूला कम्पनीले नेपालमा लगानी र व्यवसाय गरिरहेको बताउँदै नेपालको कानुन र वातावरण विस्तारै लगानीमैत्री हुँदै गैरहेकाले थप लगानी बढ्ने बताए । नेपाल भारत व्यापार सन्धिदेखि द्धिपक्षीय लगानी संरक्षण र प्रोत्साहन सम्झौता (बिप्पा) लगायतले पनि नेपालमा भारतीय लगानी बढाउँदै लगेको उनले बताए ।
सन् २०१९–२०२० मा कुल द्धिपक्षीय व्यापार ७.८७ अर्ब अमेरिकी डलर पुगेको बताउँदै मल्होत्राले सोही वर्ष भारतमा नेपालको निर्यात ७१ करोड १० लाख अमेरिकी डलर भएको बताए । जबकि भारतको नेपालतर्फ निर्यात ७.१६ अर्ब अमेरिकी डलर भएको तथ्य मल्होत्राले प्रस्तुत गरे ।

सीएनएच इन्ड्रस्ट्रिज इन्डिया प्रालीका विकास किकनले नेपालमा स्थिरता, पारदर्शीता र एकरुपता कायम भैरहने हो भने नेपालमा भारतीय लगानी बढ्ने बताए । यी तीन चीज भयो भने जहाँ पनि लगानी गर्न समस्या हुँदैन । ‘सुविधा बढ्दै गयो भने लगानी बढ्दै जाने हो,’ उनले भने ।
नेपालको अटो बजारका लागि सबै भारतबाट जान्छ, नेपालमै टिभिएस, बजाजले प्लान्ट लगाएको छ, बजार बढाउने हो भने अरु प्लान्ट पनि आउन सक्छन् तर त्यसका लागि लागत खर्च पनि हेरिनुपर्छ उनले बताए ।
केईसी इन्टरनेशनल लिमिटेडका सार्क क्षेत्रका उपाध्यक्ष पंकज टण्डनले नेपालमा पूर्वाधारको क्षेत्रमा अझै विकास गर्ने संभावना अधिक रहेकाले भारतीय लगानीकर्ताहरुसँग मिलेर पूर्वाधारमा राम्रो काम गर्न सकिने बताए । ‘विकासको खाका पूर्वाधारबाट हुने भएकाले दुई देशका लगानीकर्ताले पूर्वाधारमा जोड दिनुपर्छ,’ उनले भने ।
बिराज बिनानी गु्रपका प्रबन्ध निर्देशक विनोद जुमेजाले नेपाल र भारतको व्यापार सदियौं पुरानो भएकाले दुई देशले आर्थिक लाभ लिन अब एक अर्काेलाई नजिकबाट सहयोग गर्नुपर्ने बताए ।
नेपालमा धेरै भारतीय बैंकहरु संयुक्त लगानीमा खुले पनि भारतमा नेपालका बैंकहरुको अहिलेसम्म प्रवेश नभएको बताउँदै यसमा नेपालको राष्ट्र बैंकले प्रस्ट धारणा ल्याउनुपर्ने बताए । ‘दुई मुलुकबीच ठूलो व्यापार छ, भारतमा धेरै नेपाली छन्, नेपाली बैंक भारत आउँदा अझ सहज हुन्छ,’ उनले भने ।
साथै उनले नेपालको सडक राम्रो भयो भने लखनउबाट सडक हुँदै नेपाल पुग्ने भारतीय पर्यटक धेरै हुने बताए । ‘नेपालले पूर्वाधारमा लगानी बढाउनुपर्छ । सडककै कारण ढुवानीमा पनि समस्या भएको छ,’ उनले भने ।