काठमाडौं। सामान्यतया नेपालमा पर्यटकीय सिजन सेप्टेम्बरदेखि सुरु हुन्छ। वर्षा सकिएपछि हिउँदको चिसो नचर्किएको यहीँ समय पदयात्रा र धार्मिक यात्राका लागि उपयुक्त मानिन्छ। अन्नपूर्ण, एभरेष्ट, मुस्ताङ, लुम्बिनी, पशुपतिनाथ—सबै गन्तव्य यसै बेला पर्यटकले भरिन्छन्।
एयरलाइन्स र होटलहरूले यहीँ बेला धेरै डलर आम्दानी गर्छन्। विदेशीले नेपालभित्र उडान गर्दा पनि भाडा डलरमै तिर्छन्, होटलको भुक्तानी पनि विदेशी मुद्रामा नै हुन्छ। त्यसैले यो सिजनलाई पर्यटन व्यवसायीहरूले ‘डलर आम्दानीको मौसम’ भन्छन्। तर, यसपटक भने सिजन सुरु हुन नपाउँदै आकाश नै सुनसान भएको छ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष एवंम् समिट एयरका प्रवन्ध निर्देशक मनोज कार्कीले भारतीय पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढीले बुकिङ रद्द गरेको जानकारी दिए। एकसाथ ठूलो संख्यामा भारतीयहरुले बुकिङ रद्द गरेपछि पोखराबाट जोमसोम उडाननै रोकिएको छ। आन्दोलनको समयमा केहि उडान गरे पनि हाल जोमसोममा कुनैपनि एयरलाइन्सले उडान गर्न सकेको छैन। जोमसोम हुँदै मुस्ताङ जाने भारतीय पर्यटकहरु धेरै आउने गरेका थिए। जोमसोममा तारा र समिट एयरले उडान गर्दै आएको छ।
दुर्गममा उडान गर्ने एयरलाइन्सहरुले यही सिजनमा राम्रो आम्दानी गर्ने गरेका थिए। ‘विदेशी पर्यटकहरुले डलरमा खर्च गर्ने हुँदा हाम्रो मूख्य आम्दानीको समय नै यही थियो,’ प्रवन्ध निर्देशक कार्कीले भने, ‘यो वर्षको सिजन खल्लो हुनेदेखिन्छ, अब अर्को सिजनमा राम्रो होला की?’
जोमसोममा मात्र हाेइन सगरमाथाको प्रवेशद्वार लुक्ला जाने पर्यटकको चाप समेत अहिले घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले लुक्ला उडानमा चाप बढ्ने भएपछि सेप्टेम्बरदेखि रामेछापबाट लुक्ला उडानका लागि जहाजहरुलाई पठाउने गरेको थियो। तर, यो वर्ष चाप धेरै नहुँदा एयरलाइन्सहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गरिरहेको छ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष एवंम् समिट एयरका प्रवन्ध निर्देशक मनोज कार्कीले भारतीय पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढीले बुकिङ रद्द गरेको जानकारी दिए।
‘विगतको तुलनामा यात्रुको चाप नै छैन,’ तारा एयरका राप्के टी शेर्पाले भने, ‘जोमसोम उडान बन्द छ, लुक्ला पनि काठमाडौंबाटै गरिरहेका छौं।’ अहिले उडान रद्द गर्नेमा सबैभन्दा बढी भारतीयहरु नै रहेको बताउँदै सिजनकै मुखमा भएको राजनीतिक द्वन्द्वको सिकार पर्यटन क्षेत्र भएकाे उनले बताए। साथै, उनले आगामी दिनमा राम्रो हुने अपेक्षा गरेका छन्।
नेपालमा सबैभन्दा बढी पर्यटक आउने भारतले समेत नेपाललाई असुरक्षाको सूचीमा राखेर ट्राभल एडभाइजरी सार्वजनिक गरेको थियो। अहिले एयरलाइन्सहरुले जोमसोम उडान नभएको र लुक्लामा चाप कम भएपछि नेपालगन्जबाट हुने पहाडी यात्रामा केन्द्रित गरेका छन्। खाद्यन्न ढुवानीदेखि अन्य यात्रुहरु ओसारपसराका लागि जहाजहरु नेपालगन्जतर्फ पठाएको व्यवसायीहरुको भनाइ छ। दुर्गममा हाल तारा, समिट र सिता एयरले उडान गर्दै आएको छ।
पर्यटकीय सिजन सुरु भएकै बेला भ्रष्टचार अन्त्यसहित विभिन्न माग राख्दै जेनजीहरुको आन्दोलन विध्वसंमा परिणत भएपछि ७४ जनाको ज्यान जानुको साथै सयौंको संख्यामा घाइते भएका छन्। पाँचतारे चेन होटलहरु हायात रिजेन्सी र हिल्टन होटल जलाइएको छ। अन्य साना होटलहरु पनि आन्दोलनको क्रममा ध्वस्त हुनुको साथै धेरै निजी र सार्वजनिक सम्पत्ति जलेको छ। मानविय र भौतिक रुपमा ठूलो क्षति भएपछि अहिले विभिन्न मुलुकले ट्राभल एडभाइजरी जारी गर्दै तत्काल नेपालमा नजान अनुरोध गरिरहेको छ।