काठमाडौं । केही दिन देखि सेयर बजारमा तीब्र उतार चढाव देखिएको छ । दैनिक कारोबारमा मात्रै नभएर दैनन्दिन कारोबारमा पनि तीब्र उतार चढावको श्रृखला सुरु भएको छ ।
गत साता आइतबार उच्च विन्दूमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुगेपछिका दिनहरुमा तीब्र उतार चढावको श्रृङ्खला सुरु भएको हो । मंगलबारको कारोबारले पनि त्यसलाई सहयोग गरेको छ । यो साताको पहिलो दिन आइतबार ह्वात्तै घटेको बजार सोमबार फेरी उकालो चढ्यो । र आज मंगलबार फेरी त्यसैगरी ओरालो लागेको छ ।
यो क्रम गतसाता पनि देखिएको थियो । सेयर बजार सूचकले अझै उच्च अंक कायम गर्छ भनेर बजारमा चर्चा भइरहेको बेला बजार भने बढ्ने र घट्नेबीचको प्रतिस्पर्धामा तल्लिन छ । यो प्रतिस्पर्धाले बढ्ने भन्दा घट्ने ट्रेन्डलाई समातिरहेको छ । मंगलबार पनि नेप्से सूचक ६० अंकले घटेर २४५५ मा झरेको छ । यद्यपि, कारोबार सुरु हुँदा नेप्से सूचक २५२९ मा चढेको थियो । लगत्तै घटेको बजारले फेरी बढ्ने संकेत देखाए पनि कारोबार सुरु भएको आधा घण्टा पछि भने निरन्तर घटेर कारोबार बन्द हुनु भन्दा आधा घण्टा अघि २४३७ सम्म झरेको थियो । त्यसपछि फेरी बढ्ने संकेत गरेको बजार बन्द हुँदा २४५५ मा रोकियो ।
तर, मंगलबार कारोबार रकम भने सोमबारको तुलनामा केही बढेको छ । सोमबार ५ अर्ब ६९ करोड कारोबार भएकोमा मंगलबार ६ अर्ब १२ करोड रुपैयाँ बरारबरको सेयर किनबेच भएको छ । पछिल्ला दिनमा नेप्से सूचक मात्रै घटेको छैन्, कारोबार रकम समेत ओरालो लाग्दा बजार अझ घट्ने हो कि भन्ने चिन्तामा लगानीकर्ता छन् । यद्यपि, बजार अहिले बढ्ने वा घट्ने मामलामा देखिने गरी कुनै कारण छैन् ।
बजार बढ्दा राजनीतिक अस्थिरता, व्याजदर घटेको, लगानी योग्य अन्य क्षेत्र नभएको, अधिक तरलताको अवस्था, लाभांश घोषणाको लहर, सूचीकृत कम्पनीहरुको नाफामा खासै गिरावट नहुने जस्ता कारण लिइएको थियो । तर, बजार घट्दा पनि यी कारणमा कुनै फेरबदल भएको छैन् । राजनीतिक अस्थिरता कायमै छ । तरलता अभाव भएर ब्याजदर तत्कालै बढ्ने सम्भावना छैन् ।
लगानीको नयाँ क्षेत्र पहिचान भएको छैन र वातारण पनि छैन् । अहिले फेरिएको एउटै कारण भनेको गत वर्षको नाफाबाट यस वर्ष दिने लाभांश अधिकांश कम्पनीहरुले दिइसकेको छन् भने केही कम्पनीहरु दिने चरणमा छन् । त्यो बाहेक सेयर बजार बढ्ने र घट्ने खासै कारण छैन । बरु राजनीतिक रुपमा नयाँ सरकार बन्ने गरी वा यही सरकारले निरन्तरता पाउने सम्भावनाका साथ प्रतिनिधि सभा पुनःस्थापना भएको छ । सशत्र द्वन्द्वमा रहेको विप्लप नेकपामाथि प्रतिबन्ध फुकुवा गर्ने आशयसहित सरकारले वार्ता टोली घोषणा गरेको छ ।
तर, यही बीचमा पोखरामा आयोजित एक कार्यक्रममा आफू असुरक्षित रहेको मन्तव्य प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि भित्रभित्रै लगानीकर्तामा एकाखाले असुरक्षा महशुस गरेका त होइनन् भन्ने आंशका पनि उब्जिएको छ । तर, त्यही आधारमा बजार घट्नुपर्ने पनि छैन ।
घटेको बजारमा पनि सबैभन्दा बढी कारोबार एसियन लाइन इन्स्योरेन्सको भएको छ ।
एसियनको कारोबार २८ करोड २६ लाख छ । त्यसैगरी दोस्रो ठूलो कारोबार हुनेमा नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को रहेको छ । निफ्राको २५ करोड ८० लाख रुपैयाँ कारोबर भएको छ ।
सूचक ५९.७० अंकले घट्दा पनि साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्यमा सकारात्मक सर्किट लागेको छ । एटीसीको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । चन्द्रागिरि हिल्सको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । त्यसैगरी, हिमालयन पावर पार्टनरको मूल्य पनि ८ प्रतिशत भन्दा बढीले बढेको छ ।