काठमाडौं । कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेज अफ आइटी एण्ड इकमर्सले काठमाडाैंमा आइओटी प्रदर्शनी गर्ने भएको छ ।
फागुन २८ गतेदेखि ४ दिनसम्म डिल्लीबजारमा चल्ने प्रदर्शनीका लागि अटोनोमस भेइकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरि स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहत ब्यवस्थापन, रोबटिक हात लगायत ३० वटा प्रोजेक्टको नमुना तयार गरिएको छ । स्मार्ट सवारी नेपालमा कलेज स्तरमा पहिलो पटक निर्माण गरिएको कलेजका निर्देशक अमृत थापाले बताए।
प्रदर्शनीमा राखिने स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वरिका कलेजमा कम्प्युटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेको कलेज प्रमुख प्रमोद पौडेलले बताए।
विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधारणलाई कम्प्युटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । निःशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आइटी क्षेत्रका जिज्ञाशुका लागि उपयोगी हुने श्रेष्ठको भनाइ छ ।
प्रविधिको सदुयोग गर्न सके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने प्रदर्शनीले स्पष्ट पार्ने प्रदर्शनीका संयोजक एवम् सफ्ट्वरीका कलेजका स्ट्याटेजिक हेड मनोज श्रेष्ठ बताउँछन् ।
बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको सफ्ट्वेरिका कलेजले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब समेत तयार गरेको छ। हालको प्रदर्शनी सोही इनोभेसन हवमै विद्यार्थीहरुले तयार गरेको बताइएको छ।
कलेजको पढाइ सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकून् भनेर इनोभेसन हबको परिकल्पना गरिएको बताइएको छ। आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले ब्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई ५ लाख रुपैयाँसम्म अनुदान दिने अध्यक्ष श्रेष्ठले बताए।
५ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखिएको प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।