काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कुनै पनि कम्पनीले गर्ने हरेक काम, कारबाही र उसका गतिविधि तथा कारोबारको विषयमा आम सेयरधनीहरूलाई चासो हुन्छ । नेप्सेमा सूचीकृत कम्पनीले नागरिको नैसर्गिक अधिकारको रुपमा रहेको सूचनाको हकबाट बञ्चित गर्नुहुँदैन ।
आम जनताले सूचना पाउनुपर्छ । तर, केही निकाय यस्ता पनि छन्, जसले प्रत्यक्ष रुपमा नागरिकले पाउने सूचना लुकाइरहेका छन् । त्यसमध्येको एक हो, नेप्सेमा सूचीकृत विशाल बजार कम्पनी लिमिटेड ।
विशाल बजारले के–के गर्यो ? भनेर जान्न चाहने जो कोही लगानीकर्ताले अहिले सजिलै सूचना पाउँदैन । अर्थात, विशाल बजार कम्पनीले आफूले गरेका काम तथा गतिविधिहरूको आफ्नो वेबसाइटमा अपडेट गर्दैन ।

वर्षौंदेखि वेबसाइटमा समस्या आएको भन्दै कम्पनीको सफ्टवेयर निष्क्रिय छ । हजारौं लगानीकर्ताहरूको सेयर स्वामित्व रहेको कम्पनीको वेबसाइट वर्षौंदेखि अपडेट छैन । अहिले पनि विशाल बजार कम्पनीको नाममा कुनै अधिकारिक वेबसाइट नै बनेको छैन । कम्पनीले आफ्नो वेबसाइट अपडेट नगर्दा लगानीकर्ताहरूले कम्पनीका बारेमा वास्तविक सूचना पाउन सकेका छैनन् । यस्तै कम्पनीको अध्यक्ष, सञ्चालक समितिको जानकारी लगानीकर्तालाई छैन ।
विशाल बजारका प्रमुख विष्णुबाबु केसीले आधिकारिक वेबसाइट तयारीको काम हुन लागेको बताए । उनले सञ्चालनमा रहेको वेबसाइट ४ वर्षदेखि बन्द भएको छ । सूचीकृत कम्पनी वेबसाइटविहीन हुँदा यसको असर धेरैलाई पर्न जाने बताए । पूर्वप्रमुख कार्यकारी अधिकृत दिलिपजंग शाहको पालादेखि वेब साइट नै बन्द भएको उनले जानकारी दिए । कम्पनीको वेबसाइट खोज्दा अण्डर कन्ट्रक्सन देखाएको छ ।
सूचीकृत कम्पनीले अनिवार्य रूपमा आफ्नो वेबसाइट सञ्चालन गर्नुपर्छ । वेबसाइटमा सूचीकृत कम्पनीले त्रैमासिक, अर्धवार्षिक र वार्षिक वित्तीय विवरणहरू राख्नु पर्ने व्यवस्था छ । विशाल बजारले उक्त प्रावधानको उल्लंघन गरिरहेको छ । अहिले लगानीकर्ता तथा सरोकारवालाहरूले कम्पनीको वेबसाइट तत्काल अपडेट हुनुपर्ने माग गर्दै आएका छन् ।
कम्पनी आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको जनाएको छ । तर, आफ्नो आधिकारिक वेबसाइट नहुँदा लगानीकर्ताले कुनै पनि जानकारी पाउन नसकेको लगानीकर्ताको गुनासो छ ।
सरकारले डिजिटल नेपालको फ्रेमवर्क तयार गरिरहेको बेलामा सूचीकृत कम्पनी विशाल बजारको भने वेबसाइट नहुनु दुर्भाग्य हो । प्रविधिको पहुँच बढ्दो अवस्थामा रहेको बेला अहिले अन्य सूचीकृत कम्पनीहरूको वित्तीय विवरण मोबाइल तथा कम्प्युटरबाट सहजै हेर्न सकिन्छ ।
तर, वेबसाइट अनिवार्य रूपमा राख्नुपर्ने भए पनि विशाल बजार कम्पनीको लापरबाहीका कारण लगानीकर्ता तथा अन्य सरोकारवालाहरू भने सो सुविधाबाट बञ्चित छन् । वित्तीय विवरण समयमा नै तयार नगर्ने र वेबसाइट बनाउनसमेत पछि हट्दा कम्पनीले वित्तीय सुशासनको अटेर गरेको पाइएको छ ।