बागलुङ । गतवर्ष झरेको पहिरोका कारण बडीगाड खोला थुनिएर बनेको तुरतुरे ताल फुटेको छ ।
आइतबार रातिदेखिको वर्षासँगै खोलामा पानीको बहाव बढेपछि कृत्रिमरुपमा बनेको सो ताल सोमबार बिहान फुटेको हो ।
ताल फुटेपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङ सडकखण्डको करीब २०० मिटर सडक कटान गरेको छ । अहिले सो सडकखण्ड पूर्वरुपमा अवरुद्ध भएको छ ।
ताल फुटेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ । ताल फुटेर पानीको बहाव बढेपनि हालसम्म कुनै मानवीय क्षति नभएको स्थानीयले बताएका छन् ।
गत भदौमा पहिरो जाँदा बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा बडीगाड खोला थुनिएर कृतिम रुपमा तुरतुरे ताल बनेको थियो । तुरतुरे भन्ने स्थानमा ठूलो चट्टान खसेर कृत्रिमरुपमा ताल बनेको थियो ।
यसैबीच, लगातार दुई दिनदेखिको अविरल वर्षाका कारण तमानखोला गाउँपालिकाको वडा नं ४ लाम्मेलामा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ ।
आइतबार राति अन्दाजी १ बजे तिर गएको पहिरोले लाम्मेला सुन्दरका पाँच घर पुरिएको स्थानीयले जनाएका छन् । पहिरोमा पुरिएको शव निकालिएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर घाइते भएका छ जनाको उद्धार गरिएको र उनीहरुलाई उपचारको लागि धौलागिरि अञ्चल अस्पताल पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।