काठमाडौं । राजनीति बाहेक अन्य सम्पूर्ण वातावरण पुरानै अवस्था रहे पनि सेयर बजारप्रति लगानीकर्ताको आत्मविश्वास बढेको छैन् । बैंकले ब्याजदरमा कुनै हेरफेर नगरेको, माग अनुरुप बैंकले सेयर लोन प्रवाह गरेको, बैंकमा पर्याप्त मात्रामा तरलता भएको अवस्थामा पनि सेयर लगानीकर्ता बजारप्रति आकर्षित हुन नसकेका कारण केही दिनदेखि बजार ओरालोक्रममै छ ।
सरकारले माघ महिनमा मात्रै २५ अर्ब रुपैयाँ पुँजीगत गरेको छ । त्यो पैसा पनि बजारमा आइसकेको छ । त्यसबाहेक रेमिट्यान्स आउनेक्रम रोकिएको छैन । त्यताबाट आउने पैसा पनि बैंकमा लगानीयोग्य रकमको रुपमा रहेको छ । तैपनि सेयर बजारका लगानीकर्ताहरु पर्ख र हेरकै अवस्थामा रहेको देखिन्छ ।
बैंकले सेयर लोनको ब्याजमा कुनै हेरफेर गरेको छैनन् । बरु नयाँ सेयर लोन लिन चाहनेलाई पुरानो दर भन्दा सस्तोमा ब्याजमा ऋण प्रवाह गरिरहेका छन् । यस्तो अवस्थामा पनि लगानीकर्ताको विश्वास फर्किएको छैन् ।
देशमा राजनीतिक अस्थिरता व्यापक बढेपछि गुमेको सेयर लगानीकर्ताको मनोवल अहिलेसम्म फर्किएको छैन । हुन त अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीले प्रतिफल वितरण गरिसकेका छन् । तेस्रो त्रैमासको रिपोर्ट पनि आउने बेला भएको छैन । त्यही भएर पनि बजार केही तल झरेको हुन सक्छ ।
लगानीका क्षेत्र खुम्चिएपछि बैंकहरुको ध्यान सेयरबजार तिरै केन्द्रीत भएको छ । नयाँ उद्योग खुल्ने छाँटकाँट छैन । नयाँ परियोजान पनि तत्काल सुरु हुने देखिँदैन । तर, बैंकको स्प्रेडदर घट्दो क्रममा देखिएको छ । यसले हालको ब्याजदर झनै घटाउने देखिन्छ । बजारका लागि सम्पूर्ण कुराहरु सकारात्मक हुँदा पनि नेपाल स्टक एक्सचेञ्ज बुधबार ३.४० अंकले घटेर २४५८.४९ अंकमा रोकिएको छ ।
एकथरी सेयर लगानीकर्ताले बजारमा ठूलो करेक्सन आउने अफवाह फैल्याइरहेका पनि छन् । संसारभर सेयर बजारलाई एकदमै संवेदनशील मानिन्छ । सामान्य घटनाले पनि सेयर बजारलाई प्रभावित बनाउँछ । नेपालमा पनि बैंकको ब्याजदर बढ्ने हल्ला पिटेर बजार तल ल्याउने र आफू सेयर उठाउने दाउमा केही लगानीकर्ता लागेका देखिन्छ ।
सेयर सूचक घटेको मात्रै छैन् । दिनप्रतिदिन कारोबार रकम पनि घटिरहेको छ । कुनै समय १० अर्ब ६१ करोड रुपैयाँ बढी एकैदिन कारोबार भएको थियो । तर, अहिले दैनिक ६ अर्ब भन्दा माथि कारोबार बढ्न सकेको छैन् । बुधबार पनि ४ अर्ब १० करोड रुपैयाँ मात्रै कारोबार भएको छ । यसले अझै बजारमा करेक्सन आउने देखिन्छ ।
बजार ३ अंकले घट्दा पनि केही कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । चन्द्रागिरी हिल्स, घलेम्दी, नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । त्यसैगरी एनआरएन, साल्ट ट्रेडिङ कर्पोरेसन र लिबर्टी इन्र्जी कम्पनीको ८ प्रतिशत भन्दा बढी मूल्य बढेको छ ।
त्यसैगरी, बुधबार सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको ५५ करोड ७० लाख छ । त्यसैगरी, दोस्रो ठूलो कारोबार हुनेमा नेपाल इन्फ्रास्टक्चर बैंकको २० करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । अरुण भ्याली हाइड्रको १४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बुधबार होटल एण्ड पर्यटन, व्यापार, जलविद्युत, वित्त, उत्पादनमुलक, अन्य र लगानी उपसूचक बढेका छन् भने बैंकिङ, विकास बैंक, बिमा, म्युचुअल फन्ड र लघुवित्तको सेयर मूल्य ओरालो लागेको छ ।