काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत झण्डै २ दर्जन कम्पनीको सेयर कारोबार लामो समयदेखि भएको छैन । तीमध्ये अधिकांश कम्पनी बन्द भइसकेका छन् । तर, नेप्सेको सूचीकरणबाट ती कम्पनी हटेका छैनन् ।
कारोबार नहुनेमा उत्पादन तथा प्रशोधन उपसमूहमा १३ वटा कम्पनी छन् । यस्तै वित्त उपसमूहमा ४, होटल तथा व्यापारका ४ कम्पनी छन् । नेप्सेमा सूचीकृत भए पनि ती कम्पनीका सेयर लामो समयदेखि खरिद बिक्री भएको छैन ।
यीमध्ये अधिकांश बन्द भएर नेप्सेको सम्पर्कमा छैनन् । लगानीकर्ताको अर्बौं रुपैयाँ गुमेको छ । यीमध्ये केही उद्योग सञ्चालनमा छन् । बन्द र कारोबार नभएका कुल २१ कम्पनीको ५ करोड २८ लाख ७९ हजार कित्ता सेयर कारोबारका लागि नेप्सेमा सूचीकृत भएका छन् । नेप्सेमा कारोबार नभएका ती उद्योग तथा कम्पनी धेरैजसो बन्द भइसकेका छन् ।
सञ्चालनमा रहेका भनिएका उद्योगको सेयरसमेत कारोबार हुन नसकेको नेप्सेका प्रवत्ता मुराहरि पराजुली बताउँछन् । सरकारले निजीकरण गरेका कारण केही उद्योग पनि बन्द भएका छन् ।
उत्पादनमूलक उपसूचकमा रहेका अरुण वनस्पति उद्योग लिमिटेड, विराट शु कम्पनी लिमिटेड, बुटवल स्पिनिङ मिल्स लिमिटेड, फ्ल्योर हिमालयन लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड र हरिसिद्ध इँटा तथा टायल कारखाना लिमिटेड छन् ।
यसैगरी ज्योति स्पिनिङ मिल्स लिमिटेड, नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेड, रघुपति जुट मिल्स लिमिटेड, भृकुटी पल्प एन्ड पेपर लिमिटेड, श्रीराम सुगर मिल्स लिमिटेड, खाद्य उद्योग लिमिटेड र नेपाल वनस्पति घिउ उद्योग लिमिटेड छन् । यीमध्ये अधिकांश उद्योग बन्द भइसकेका छन् ।
सेयर कारोबार नभए पनि नेपाल ल्युब आयल र बिटुमिन एन्ड ब्यारेल उद्योग सञ्चालनमा छन् । यस्तै बुटवल, गोखरकाली र रघुपति जुट सरकार स्वामित्वका कम्पनी हुन भने हरिसिद्ध, नेपाल बिटुमिन सरकारले निजीकरण गरेका उद्योग हुन ।
यस्तै वित्त उपसूचकमा क्यापिट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, हिमालयन फाइनान्स, नेपाल सेयर मार्केट लिमिटेड र सम्झना फाइनान्स लिमिटेडको कारोबार भएको छैन ।
समस्याग्रस्त घोषणा भएपछि कारोबार रोक्का भएको क्यापिटल मर्चेन्ट बैंकमा नयाँ लगानीकर्ताको प्रवेश भएको दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । लगानीकर्ताबीचको विवादका कारण सञ्चालनमा आउन नसकेको हो ।
व्यापारतर्फ नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वेयलफेयर कम्पनी लिमिटेड र नेपाल फिल्म डेभलपमेन्ट कम्पनी लिमिटेड र होटल समूहमा याक एन्ड यती होटल लिमिटेड छन् ।
सेयर कारोबार नभएपछि यी सबै कम्पनीहरूको मूल्य शून्यको अवस्थामा छ । यी ३ वटै कम्पनी अहिले अस्तित्वमा छैनन् । याक एन्ड यती होटलको सेयर कारोबार नभए पनि सञ्चालनमा छ ।
अरुणको नेप्सेमा सूचीकरण भएदेखि नै सेयर कारोबार भएको छैन । अरुणको नेप्सेमा ५ लाख ५० हजार ३४३ कित्ता सेयर सूचीकृत छ । विराटको १ लाख ६५ हजार कित्ता, बुटबलको १३ लाख ६ हजार ६९३ कित्ता, फ्ल्योर हिमालयको २ लाख ६२ हजार १०२ कित्ता र गोरखकाली रबरको ३८ लाख ३३ हजार ४०० कित्ता रहेको छ ।
यसैगरी हरिसिद्धी इँटाको १ करोड ८६ लाख ५० हजार, ज्योति स्पिनिङको १२ लाख ७० हजार २८८, नेपाल बिटुमिनको २ लाख १० हजार ६८०, नेपाल खाद्यको ९० लाख, नेपाल वनस्पतिको १ लाख १ हजार २५०, रघुपति जुटको १८ लाख ६ हजार ९६६, भृकुटीको ३५ लाख श्रीराम ३० लाख ४५ हजार ९९० कित्ता सेयर सूचीकरण भएको नेप्सेले जनाएको छ ।
यस्तै क्यापिटलको ९३ लाख ५० हजार ६९५, हिमालयन फाइनान्सको १४ लाख, नेपाल सेयरको ४३ लाख २० हजार र सम्झना फाइनान्सको २ लाख २५ हजार कित्ता रहेको छ ।
याक एन्ड यतीको २२ लाख ९ हजार २०८, नेपाल फिल्मको ४ लाख ९१ हजार २८५, नेपाल ट्रेडिङको ५० हजार र नेपाल वेलफेयरको ४१ हजार कित्ता सूचिकृत भएको छ । कम्पनी बन्दका साथै सञ्चालनमा रहेकाको पनि सेयर कारोबार नहुँदा साना लगानीकर्ताको अर्बौं रुपैयाँ डुबेको छ ।
नेप्सेका प्रवक्ता पराजुली बन्द भएका कम्पनीलाई सूचीकरणबाट हटाउने कारबाहीको प्रावधान नभएको बताउँछन । सूचीकृत कम्पनीहरूले समयमै सूचना र सूचीकरणको शुल्क नबुझाएमा कारोबार रोक्का गर्ने व्यवस्था मात्र रहेको उनले सुनाए । खारेजीको व्यवस्था भए पनि नगरिएको उनको भनाइ छ ।
सूचीकृत कम्पनी खारेज नगरेपछि कम्पनीका बारेमा नेप्सेमा जानकारी हुन्छ । गुनासोको जानकारी लिने हुन्छ । सूचीकरणबाट हटाएमा सर्वसाधारणलाई कम्पनीका बारेमा जानकारी लिन ठाउँ नै नहुने उनको तर्क छ । ‘विराटनगर जुट मिल्सको सूचीकरण खोरज भयो तर त्यहाँ चलखेल भएर सम्पत्ति हडप्ने काम भएको छ । यही कारणले खारजे नभएको हो,’ उनले भने ।
दामासाही ‘लिक्विडेसन’मा गए पनि बाँकी रहेको सम्पत्तिबाट ऋण तिर्नुपर्ने, कर्मचारीलाई तलब भत्ता खुवाउनुपर्ने, ऋणपत्रको कारोबार गरेको भए त्यसको समेत प्रबन्ध मिलाउनुपर्ने भएकाले ती सबै कार्य भएपछि बाँकी रहने सम्पत्ति मात्रै लगानीकर्ताको हुने कानूनी व्यवस्था छ ।