काठमाडौं । फागुन ९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकले कायम गरेको उच्च विन्दू २६४०.३५ अंकलाई छाडेर तल झरेको बजार निरन्तर ओरालो यात्रामै छ ।
फागुनमा भएको १२ दिनको कारोबारमा तीन दिन सूचकमा केही वृद्धि भए पनि ९ दिन भने उच्च गिरावट आएर २४५८ मा झरेको नेप्से चैत १ गते र साताको पहिलो दिन घटेर २४०० अंकमा ओर्लिएको बजार बन्द हुने बेला २४०७.२५ मा रोकिएको छ ।
सूचक ओर्लिएसँगै पछिल्लो समयमा कारोबार रकममा पनि उच्च गिरावट आएको छ र ४ अर्बमै सीमित हुन थालेको छ । केही अघिसम्म १० अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने गरेकोमा अहिले ६० प्रतिशतले कारोबार रकममा गिरावट आएको छ ।
सूचक घट्ने भन्दा पनि निरन्तर कारोबार रकम घटेका कारण सेयर लगानीकर्ता आत्तिएका छन् । र बिक्रीका लागि थप दबाबमा परेका छन् । त्यसले प्यानिक सेलको अवस्था सिर्जना गरेको छ । गतसाता तीन दिन कारोबार भएकोमा तीनै दिन सूचक घट्यो भने कारोबार रकम पनि ४ अर्व वरिपरी नै रह्यो । यसले लगानीकर्तामा मनोबैज्ञानिक दबाब सिर्जना गरेको छ ।
खासगरी, राजनीतिक अन्यौलतामा खेल्दै कतिपय लगानीकर्ता र धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुले विभिन्न प्राविधिक तथा सैद्धान्तिक बहस गराएर बजार घटाउन भूमिका खेलिरहेका छन् । बजार अझै घट्छ भन्ने अवफाह चलाएर र लगानीकर्तालाई थप नआत्तिन भन्दै प्यानिक सेलमा उतारेका छन् । जसले गर्दा बजार झन झन खच्कँदै गएको छ ।
केही समयदेखि ब्याज बढ्ने हौवा चलाएका लगानीकर्ताका केही समूहहरु ब्याजदर नबढेपछि फेरी चैतमा बढ्द भन्दै हल्ला चलाउन थालेका छन् । कतिपय सञ्चारमाध्यमहरुले पनि लगानीयोग्य रकम (तरलता) अभाव हुन थालेको र ब्याजदर बढ्ने हौवा पिटाउन थालेका छन् । जसको असर सेयर बजारमा परेको छ । सरकार कस्को बन्ने र कहिले बन्ने अन्यौलताले कतिपय लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेका छन् भने कतिपयले अनावश्यक ब्याख्या गर्दै सेयर बजार घटाउन कोशिस गरिरहेका छन् ।
बिना आधार बढेको बजारमा घट्दा पनि कुनै तथ्यले काम गरेको छैन । अहिले ब्याजदर तत्कालै बढ्ने अवस्था छैन । लगानी वातावरण उस्तै छ । नयाँ क्षेत्रमा लगानी गर्ने वातावरण बनेको छैन । बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा कर्जा लगानी गर्न कुनै कन्जुस्याई गरेको छैनन् र पनि बजार घटिरहेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना र नेकपाको मिलनलाई विछोडमा परिणत गरिदिने फैसला गरेदेखि तीब्र गतिमा ओर्लिएको बजारले १३ दिनमा २३३ अंक गुमाएको छ ।
यसले अदालतको निर्णयपछि राजनीति माहोल कसरी अघि बढ्ने हो भन्ने आंशकामा सेयर लगानीकर्ता चिन्तित रहेको देखाउँछ । यद्यपि, सेयर खेलाडीहरुले राजनीतिक अन्यौलताकै बीचमा उच्च नाफा गर्ने गरेका हुन्छन् । अहिले घटिरहेको बजारमा सेयर खरिद गर्दा सरकार परिवर्तन हुने वा यही सरकारले निरन्तरता पाउने स्थितिमा बजारले फेरी उचाई लिने स्थिति बन्छ । तथापि, अहिले पनि केही कम्पनीहरुको सेयर मूल्य न्यून विन्दूमै छ । घटेको बजारमा पनि आइतबार चन्द्रागिरि हिल्ससहित विभिन्न जलविद्युत् कम्पनीहरुको मूल्यमा उछाल आएको छ ।
चन्द्रागिरीको ९.९५ प्रतिशतले बढेर ८८४ रुपैयाँ प्रतिकित्ता पुगेको छ भने अपर तामाकोसीको सेयर मूल्य पनि ९.८५ प्रतिशतले बढेको छ । त्यसलाई पच्छ्याउँदै पञ्चकन्या माई हाइड्रो पावर, र घलेम्दी हाइड्र र रैराङ हाइड्रोको पनि ९ प्रतिशत भन्दा माथि बढेको छ ।
जलविद्युत् कम्पनीहरुमा उछाल आउँदा जलविद्युत् समूह सूचक करिब ४८ अंकले बढेको छ । चन्द्रागिरिको सेयर मूल्यमा उछाल आएपछि होटल र पर्यटन समूह सूचक पनि ६१ अंकले बढेको छ । तर, अन्य सबै सूचकहरुमा गिरावट आउँदा नेप्से सूचक ५१.२३ अंकले घटेर २४०७.२५ अंकमा रोकिएको छ ।
आइतबार सबैभन्दा घट्ने समूह सूचकहरुमा जीवन बिमा ४५४ अंक र निर्जीबन बिमा ३७४ र व्यापार २१३ अंक छन् । यद्यपि, सेयर मूल्य घट्दा अधिकांश कम्पनी न्यून मात्रामा घटेको छ । हिमालयन पावरको ९.८६ प्रतिशतले घट्दा नेपाल हाइड्रोको करिब ८ प्रतिशतले घटेको छ । त्यसलाई पच्छ्याएको नेपाल टेलिकमको ६.५ प्रतिशतले मूल्यमा गिरावट आएको छ । आइतबार ४ अर्ब ९५ करोड २७ लाख रुपैयाँ बरारबको सेयर किनबेच भएको छ ।