काठमाडौँ । गत फागुन २३ गते सुरु भएको कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप कार्यक्रम पूरा भएको छ । सो अवधिमा काठमाडौं महानगरका १४ वटा खोप केन्द्रबाट ४८ हजार ६८ जनाले खोप सेवा लिएका छन । दोस्रो चरण अन्तरगत पहिलो प्राथमिकतामा ६५ वर्ष उमेर समूहभन्दा माथिका जेष्ठ नागरिकलाई राखिएको थियो ।
‘यस चरणको दोस्रो प्राथमिकतामा परेकाहरुका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अर्को सूचना प्राप्त भएपछि खोप लगाउने काम सुरु गर्नेछौँ ।’ सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभाग प्रमुख हरिबहादुर कुँवरले भने, ‘खोप कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयंसेवकलगायत सम्वन्धित अस्पतालका व्यवस्थापन र्र कर्मचारीको अथक प्रयास रह्यो ।’
कुँवरका अनुसार, २५ हजार ३ सय २५ जना पुरुष र २२ हजार ७ सय ४३ जना महिलाले कोरोनाविरुद्धको खोप लगाएका छन । प्राप्त तथ्याङक अनुसार सबै भन्दा बढी सिभिल हस्पिटलबाट ६ हजार ७ सय १७ जनाले र दोस्रोमा ओम अस्पताल एण्ड रिसर्च सेन्टर चावहिलबाट ३ हजार ९ सय ४८ जनाले खोप लगाएका छन ।
वीर अस्पतालबाट ४ हजार ३ सय ७१, टिचिङ अस्पतालबाट ३ हजार ८ सय ४३, नेपाल प्रहरी अस्पतालबाट ३ हजार ७ सय २०, हिमाल अस्पताल नक्सालबाट ३ हजार ७ सय ९, टेकु अस्पतालबाट ३ हजार २ सय ६९, स्तुपा अस्पताल बौद्धबाट ३ हजार २ सय २ र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट ३ हजार ८३ जनाले खोप लगाएका छन ।
जनमैत्री अस्पतालबाट २ हजार ४ सय ४८ र केएमसी अस्पताल सिनामंगलमा २ हजार ६ सय १० जनाले खोप लगाए । छत्रपाटी निशुल्क चिकित्सालयमा २ हजार ८ सय ४२, प्रसुति गृह थापाथलीबाट २ हजार ९ सय ९९ ले खोप लगाए । सबै भन्दा कम मदरल्याण्ड अस्पतालमा १ हजार २ सय ६७ ले खोप लगाएका छन् ।
जेष्ठ नागरिकलाई खोपप्रति प्रोत्साहन गर्न महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यसहितको टोलीले खोप केन्द्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रमुख शाक्यले सबैको पहुँचमा खोप सेवा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । खोप केन्द्रमा भेटिएका सेवाग्रहीसँग कुरा गर्दै उनले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र आफुलेसमेत खोप लगाइसकेको बताउँदै ढुक्क भएर खोप लगाउन प्रोत्साहन गरेका थिए ।
महानगरपालिकाले खोप केन्द्रमा बस्नका लागि कुर्सी, तातो र चिसो पानी, चिया, कुकिज, फलफुल र टेण्टको व्यवस्था गरेको थियो ।