काठमाडौं । पछिल्लो समय बिमा कम्पनीहरुले आफ्नो लगानीको दायरा बढाउँदै लगेका छन् । बिमितबाट सङ्कलन हुने बिमा शुल्क (प्रिमियम) बढ्दै गएपछि कम्पनीहरुको लगानी विस्तार हुँदै गएको हो ।
गत आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्म जीवन र निर्जीवन बिमा कम्पनीहरुले २ खर्ब ५८ अर्ब १३ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।
जीवन बिमा कम्पनीहरुले मात्र २ खर्ब २५ अर्ब १७ करोड रुपैयाँ लगानी गरेको बिमा समितिले जनाएको छ । त्यस्तै, निर्जीवन बिमा कम्पनीहरुले ३२ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका छन् । बिमा समितिको तथ्याङ्कअनुसार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानी गरेको छ । नेपाल लाइफले ७१ अर्ब २३ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ ।
त्यसैगरी, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (एलआईसी नेपाल)ले ४४ अर्ब ८९ करोड २६ लाख, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २६ अर्ब ७७ करोड ६ लाख रुपैयाँ र राष्ट्रिय बिमा संस्थानले १ अर्ब ९७ करोड २३ लाख रुपैयाँ लगानी गरेको समितिले जनाएको छ ।
समितिले उपलब्ध गराएको विवरण कुल कम्पनीमध्ये ७५ प्रतिशत बिमा कम्पनीको तथ्याङ्क हो । अझै २५ प्रतिशत बिमा कम्पनीहरुले तथ्याङ्क पठाउनै बाँकी छ । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बिमा कम्पनीहरुले कुल २ खर्ब ५ अर्ब २६ करोड रुपैयाँ लगानी गरेका छन् । एक वर्षको अवधिमा बिमा कम्पनीको लगानी ५३ अर्ब रुपैयाँ बढेको छ ।
बिमितबाट सङ्कलन भएको शुल्क बिमा कम्पनीहरुले बैङ्कमा मुद्दती निक्षेप, सेयर बजार र ऋणपत्रमा लगानी गर्दै आएका छन् । राष्ट्रिय बचत बढ्नुमा जीवन बिमा कम्पनीको ठूलो योगदान रहेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । उनले गाउँगाउँमा जीवन बिमा कम्पनी पुगेकाले शुल्क सङ्कलनका साथै बचतमा वृद्धि भएको जानकारी दिए ।
आगामी केही वर्षभित्र बिमा कम्पनीहरु वाणिज्य बैङ्कको हाराहारीमा आउने उनको भनाइ छ । एक वर्षको अवधिमा नेपालमा बिमाको पहँुच पाँच प्रतिशत बढेको छ । गत असारसम्म १९ प्रतिशत जनसङ्ख्यामा बिमा पुगेको बिमा समितिको तथ्याङ्क छ ।
यस वर्ष बढेर २३ प्रतिशत पुग्ने प्रक्षेपण समितिले गरेको चापागाईंले बताए । जीवन बिमामा धारणा केही परिवर्तन भएको छ । जीवन बिमालाई मानिसले लगानीको रुपमा पनि हेर्न थालेको उनले जानकारी दिए ।