काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्टार्ट अपहरूको प्रवर्द्धनमार्फत मुलुकभित्र उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्न स्टार्ट अप एण्ड इन्नोभेसन समिति गठन गरेको छ । महासंघमा स्टार्ट अप एण्ड इन्नोभेसन समिति पटक गठन भएको हो । महासंघले स्टार्ट अपसँग सहकार्य गर्दै अघि बढ्ने भएको छ ।
कार्यकारिणी समितिका सदस्य रजितराज आचार्यको सभापतित्वमा गठित समितिमा स्टार्ट अप र इन्नोभेसन क्षेत्रमा स्थापित युवा उद्यमीहरू संलग्न छन् । समितिले नव उद्यमीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोडने, महासंघले आर्थिक रूपान्तरण मार्गचित्र(भिजन पेपर) मार्फत अगाडि सारेको प्रतिवर्ष ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।
त्यस्तै, स्टार्टअप र उद्योग व्यवसायका बारेमा अध्ययन गर्ने र मुलुकभित्र नविनतम सोचसहितको उद्यमशीलता प्रवर्द्धन गर्न उद्योग मन्त्रालयअन्तर्गत लगानी प्रवर्द्धन महाशाखासँगको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने योजना बनाइएको छ ।
नया सोचसहित केही गर्न अघि सरेका नव उद्यमीहरूको पहिचान गरी उनीहरूलाई अगाडि बढ्न आवश्यक पूँजी लगानी स्वरूप जुटाई सहयोग गर्ने लगायतका महत्वपूर्ण कार्यहरू गर्ने महासंघले जनाएको छ ।
नविन सोंचमा आधारित रहेर उद्यम गरिरहेका ५० वटा स्टार्ट अप र उद्योग व्यवसायहरूको व्यावसायिक सफलताका लागि समितिअन्तर्गत रहेको इन्भेष्टर फोरममार्फत ५० लगानीकर्तासँग साक्षात्कार गराई लगानी तथा व्यावसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिएको छ । यही चैत महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने महासंघले जनाएको छ । यसमा आवेदन दिन चाहने स्टार्टअप र उद्योग व्यवसायहरू कम्तीमा एक वर्ष र सोभन्दा बढी सञ्चालनमा आएको हुनुपर्ने छ । सबै क्षेत्र जस्तो कृषि उत्पादन, सूचना प्रविधि र सेवाका लागि खुला गरिनेछ ।
स्टार्ट अपर उद्योग व्यवसायहरू लगानीका लागि छनौट भई सकेपश्चात उनीहरूलाई लगानीकर्तामाझ पुर्याउन पहिलो तीन महिनाको मेन्टरसिप कार्यक्रममा समावेश गराइने छ । उद्यमशीलतासम्बन्धी परामर्श दिन लामो व्यवसायिक अनुभव हासिल गरेका सफल २० जना मेन्टरको रोस्टर तयार गरिएको छ ।
एक मेन्टरका हिसावले २० स्टार्टअपर उद्योग व्यवसायलाई मेन्टरशीप कार्यक्रमअन्तर्गत लामो व्यावसायिक अनुभव वटलेका मेन्टरहरूमार्फत करिब ३ महिना परामर्श दिई उद्यम गर्न सक्षम बनाइनेछ । मेन्टरसिपमा सफलतापूर्व मेन्टरिङ पूरा गरेका स्टार्टअपर उद्योग व्यवसायलाई मात्र लगानी जटाउनका लागि लगानीकर्ता माझ आफनो व्यवसायको प्रस्तुतिका लागि मौका प्रदान गरिनेछ ।
केन्द्रबाहेक जिल्लास्तरमा पनि स्टार्टअपर उद्योग व्यवसायलाई आवश्यक पर्ने मार्गदर्शनका लागि भर्चुअल माध्यमबाट मेन्टरहरू उपलब्ध गराइनेछ । प्रत्येक महिनाको पहिलो शुक्रवार हरेक क्षेत्रका सफल उद्यमीसग स्टार्टअपहरूलाई सहयोग पुग्ने गरी ज्ञान श्रृंखलाको रूपमा प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रवार ‘फस्ट फ्राइडे टक’ आयोजना गरिनेछ।
कार्यक्रम महासंघ सचिवालयमा दिनको ३ देखि साढे ६ बजेसम्म चल्नेछ । कार्यक्रममा सफल उद्यमीहरू र यस क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ । आगामी अप्रिल २ तारिखमा पहिलो कार्यक्रम आयोजना गर्ने महासंघको कार्य तालिका छ । उक्त कार्यक्रममा हिमालयन जाभाका प्रमुख गगन प्रधानद्वारा सफल फ्रेन्चाइज बिजनेश मोडलका बारेमा प्रस्तुतीसहित अन्तरक्रिया गर्नेछन । सो कार्यक्रममा फ्रेन्चाइज विजनेसँगसम्बन्धी स्टार्टअपर उद्योग व्यवसायलाई सहभागी गराइनेछ ।
महासंघका केही जिल्ला उद्योग वाणिज्य संघहरूमा पनि इन्कुबेसन सेन्टर स्थापना गर्ने योजना छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आइएलओ, इसीमोड, काठमाडौं महानगरपालिका, केयू अन्तरप्रेरणा र जिल्ला उवासंघहरू साझेदार संस्थाहरूको रुपमा रहने छन् ।
विभिन्न संघ-संस्थाको समन्वयमा स्टार्टअप डाइरेक्टरी बनाउने र डाइरेक्टरीमार्फत आफूलाई चाहेको स्टार्टअपसंग सम्पर्क गरी लगानी गर्न सक्ने अवसर सिर्जना गरिनेछ ।
नेपालमा नविन सोचसहित स्टार्टअप उद्योग व्यवसाय सुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव तयार गर्ने र यस क्षेत्रका लागि हुनुपर्ने नीतिगत सुधारका विषयमा सुझाव पेश गरिने महासंघले जनाएको छ । यस क्षेत्रको विकास विस्तारका लागि आवश्यक नीति कानुन निर्माणमा सरकारसँग सहकार्य गर्ने महासंघको योजना छ ।
मुलुकभित्र औद्योगिक विकास, व्यावसायिक सोचको विस्तार नभएसम्म समृद्धि आउन सक्दैन । रोजगारी सुजनाका लागि उद्यमशीलता प्रवर्द्धन आवश्यक छ । उद्यमशीलताको प्रवर्द्धनका लागि नविनतम सोच भएका यूवाहरुलाई सहयोग गर्नेतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने महासंघले जनाएको छ ।
नेपालमा पछिल्लो पटक नविनतम सोचमा आधारिम उद्यम व्यवसायमा बिस्तारै बढोत्तरी हुँदै आएको पाइन्छ । पछिल्लो ५ वर्षमा नेपालमा स्टार्टअपहरू राम्रो फस्टाएको कुरालाई विभिन्न अध्ययनहरूसमेत देखाएको छ । खासगरी महाभूकम्प र कोभिडपश्चात नेपालमा पनि स्टार्टअप व्यवसायले गति लिन थाल्यो । प्रविधिमा आधारित साना तथा मझौला व्यवसायहरू उच्चवृद्धि भइरहेको देखिन्छ । विश्व इनोभेसन सूचकाङमा नेपाल १२६ देशहरु मध्ये १०९ औं स्थानमा देखिन्छ ।
नेपालमा स्टार्टअपको अवधारणा अहिलेसम्म पनि नँया नै छ । हरेक वर्ष स्वदेश तथा विदेशका विश्व विद्यालयबाट समेत आफ्नो अध्ययन परा गरेर आउने संख्या निकै ठूलो छ । युवाहरुमा नविनतम सोच अत्यधिक रहेको पाइन्छ । अहिले स्टार्टअप थालेका उद्यमीहरु २५ देखि ४० वर्षका युवाहरू र उनीहरू विदेशका प्रतिष्ठित शैक्षिक संस्थाहरूमा अध्ययन गरी आएका नै अधिक पाइन्छन् । स्टार्टअपको सुरुवात गरेका उद्यमीहरूका अनुसार नेपालमा पूँजीको सहज उपलब्धता करको उच्च दर, स्टार्टअप मैत्री नीतिको अभाव, नियामक अवरोधहरु र नँया सुरुवात गर्न लाइसेन्सको समस्या मुख्य चुनौती रहेका छन ।
उद्यमशीलता विकासका लागि आवश्यक पूँजी जुटाउन साना तथा मझौला व्यवसायीलाई पनि बजारमा प्रवेश गराउनु पर्ने आवश्यकता छ । नेपालमा उद्यमशीलता वृद्धिका लागि आवश्यक पूँजी लगानी गर्ने प्रवृत्तिको अभाव छ ।