काठमाडौं । लामो समयदेखि घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण पछिल्लो दुई वर्षदेखि नाफामा गएको छ ।गत आर्थिक वर्षमा विद्युत् प्राधिकरणले नाफा १२४ प्रतिशत बढाएको छ । गत असारसम्म प्राधिकरणले ६अर्ब ३८ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो नाफा महालेखा परीक्षकको कार्यालले देखाएको हो ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा विद्युत् प्राधिकरणले ३ अर्ब ५३ करोड १९ लाख रुपैयाँ खुद नाफा बढाएको स्रोतले बतायो । बिहारबाट खरिद गरिएको बिजुली महँगो परेकाले नाफा कम देखिएको प्राधिकरण स्रोतको दाबी छ । बिहारको बिजुलीको भाउ महँगो नपरेको भए खुद नाफा १० अर्ब रुपैयाँ पुग्ने स्रोतको भनाइ छ ।
संस्थागत सुशासन, अनावश्यक खर्च कटौती र चुहावट नियन्त्रणले गर्दा नाफा बढेको प्राधिकरण स्रोतले बतायो । २०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण आठ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो ।
उनको व्यवस्थापकीय कुशलताले मुलुकलाई लोडसेडिङ मुक्त मात्रै गरेन घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएको छ ।
यसअघि २७ अर्ब ३२ करोड रुपैयाँ सञ्चित नोक्सानीलाई अपलेखन (राइटअप) गरी नाफा र घाटा बराबरीको अवस्थामा पुर्याए पनि नोक्सान बढ्दै गएको थियो ।
घिसिङको नेतृत्वमा विद्युत् चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट प्राधिकरण नाफामा जान थालेको हो । प्राधिकरणले औसत आठ रुपैयाँमा बिजुली किनेर १० रुपैयाँ ४ पैसामा बिक्री गर्दै आएको छ ।
अघिल्लो वर्ष विद्युत् चुहावट २०.४५ प्रतिशतबाट घटेर १५.६ प्रतिशतमा झरेको छ । प्राधिकरणले चुहावट घटाउन चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सवस्टेसनको सुदृढीकरणलगायत काम अभियानकै रुपमा चलाइरहेको छ ।