काठमाडौं। नेपालको स्वास्थ्य क्षेत्रमा दशकौंदेखि निरन्तर काम गर्दै आएका अनुभवी व्यवसायी तथा ह्याम्स हस्पिटल र नागरिक सामुदायिक अस्पतालका अध्यक्ष रामशरण भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन मैदानमा उत्रिएका छन्।
आगामी चैत ३० गते हुने महासंघ निर्वाचनमा एसोसिएटतर्फबाट कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका भण्डारीले स्वास्थ्य व्यवसायीहरूका समस्या सरकारसमक्ष थप प्रभावकारी ढंगले उठाउन यो कदम चालेको बताएका छन्।
स्वास्थ्य क्षेत्रका नीतिनिर्माण र व्यावसायिक वातावरण सुधारमा लामो समयदेखि सक्रिय भण्डारी यस क्षेत्रका एक परिचित अनुहार हाे। उनले वर्षौंदेखि स्वास्थ्य व्यवसायीहरूका समस्या बोकेर सरकारी ढोका ढकढक्याउँदै आएका छन्। तर सरकारको उदासीनता र नीतिगत अन्योलले यस क्षेत्रको विकासमा अवरोध खडा गरिरहेको उनको गुनासो छ। 'नेपालमा स्वास्थ्य क्षेत्रमा अथाह सम्भावना छ, तर सरकारले त्यसको महत्व अझैसम्म बुझेको छैन। म निरन्तर बुझाउन लागिपरेको छु,' उनले भने।
नेपालको स्वास्थ्य क्षेत्र लामो समयदेखि नीतिगत उपेक्षाको सिकार बन्दै आएको छ। एकातिर उपचारका लागि भारत र थाइल्याण्ड जाने नेपालीको संख्या वर्षेनि बढ्दै छ भने अर्कातिर स्वास्थ्य पर्यटनको ठूलो अवसर नेपालकै ढोकामा उभिएको छ। यस सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्न व्यवसायीलाई अनुकूल नीति, सहज लगानी वातावरण र नियामकीय स्पष्टता चाहिन्छ — जुन अहिलेसम्म पर्याप्त नभएकाे भण्डारीको धारणा छ।

यही खाडल पुर्न र स्वास्थ्य क्षेत्रका व्यवसायीहरूको एकीकृत आवाज नीतिनिर्माण तहसम्म पुर्याउन आफूले उम्मेदवारी दिएको भण्डारीले स्पष्ट पारेका छन्। महासंघजस्तो प्रभावशाली छाता संगठनबाट यो आवाज उठाउन सकिएमा सरकारसँगको संवाद अझ प्रभावकारी हुने उनको विश्वास छ। व्यवसायीहरूले भोगिरहेका समस्या — चाहे त्यो कर नीतिको जटिलता होस्, स्वास्थ्य बिमाको अव्यवस्था होस् वा लगानी प्रक्रियाको झन्झट— ती सबैलाई व्यवस्थित ढंगले सम्बोधन गर्न महासंघको मञ्च उपयुक्त ठाउँ भएको उनी बताउँछन्।
भण्डारी केवल अस्पताल सञ्चालनमा सीमित नभई स्वास्थ्य क्षेत्रको नीतिगत सुधारमा समेत सक्रिय रहँदै आएका छन्। सरकारी निकायहरूसँगको समन्वय र वकालतमा उनको दीर्घ अनुभवले महासंघको कार्यकारिणीमा पुगेमा यस क्षेत्रलाई थप बलियो प्रतिनिधित्व मिल्ने अपेक्षा राखिएको छ।