काठमाडौं । पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि निर्माण गरिएको काबेली करिडोर १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ ।
आयोजनाको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्ड सोमबारबाट सञ्चालन भएपछि झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइनको निर्माण पनि सकिएको छ । तेस्रो खण्ड सोमबार साँझ पौने ६ बजेबाट सञचालन (चार्ज) भएको हो ।
आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) दोस्रो खण्ड यसअघि नै सञ्चालन भइसकेको थियो । लखनपुर, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा थिए ।
ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको बाटो ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयास र अनुगमनबाट सम्पन्न गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘रुग्ण आयोजनामध्येको एउटा काबेली करिडोरको निर्माणबाट प्राधिकरणले धेरै पाठ सिक्यो, राइट अफ वेको समस्या सुल्झाउन व्यक्तिगतरुपमा प्रभावितको घरघरमा समेत गयौं,’ उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकायलगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौं, अब इलाम, पाँचथर र ताप्लेजुङमा निर्माणाधीन आयोजना र निर्माण हुने आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार पनि तयार भएको छ ।’
निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा खेर जान नदिन उनीहरुको व्यापारिक उत्पादन सुरु (सीओडी) हुने मितिभन्दा पहिले नै प्रसारण लाइनको निर्माण सम्पन्न भएको उनले उल्लेख गरे ।
‘अब प्रवर्द्र्धकहरुले पनि आयोजनाको निर्माण छिट्टै सम्पन्न गरी विद्युत् जोड्नु पर्छ’, घिसिङले भने ।
राइट अफ वेमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने, रुट परिवर्तन गर्नु पर्नेलगायतका माग राखी इलामको मङ्गलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए । कार्यकारी निर्देशक घिसिङ गत वर्ष आफैं आयोजनास्थलमा गई स्थानीयसँग छलफल गरी समस्या समाधान गरेका थिए ।
आर्थिक वर्ष २०६३÷६४मा सुरु भएको आयोजना निर्माणका लागि जगुआर ओभरसिज एन्ड इस्टर जेभीसँग २३ भदौ २०६८ (९ सेप्टेम्बर २०११)मा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता १४ पुस २०६८ (२९ डिसेम्बर २०११)मा कार्यान्वयनमा आएको थियो ।
३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो ।
ड्रोनको प्रयोग
तेस्रो खण्डमा पर्ने अमरपुरको पिनासे घाटमा २.२ किलोमिटर तार तान्न रुख काट्ने प्रक्रिया पूरा गर्न धेरै समय लाग्ने देखिएपछि ड्रोनको प्रयोग गरिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए । ‘त्यहाँ चार सयको हाराहारीमा रुख काट्नु पर्ने थियो, यसको स्वीकृतिका लागि प्रक्रिया धेरै लागेर काम नै प्रभावित हुने देख्यौं, त्यसैले ३१–३५ नम्बरको टावरमा ड्रोनको प्रयोग गरी तार तान्यौं,’ उनले भने ।
लाइन सञ्चालनमा आएको प्रवद्र्धकलाई जानकारी
प्राधिकरणले काबेली करिडोरको तेस्रो खण्ड निर्माण सम्पन्न भई सोमबारबाट सञ्चालन भएको जानकारी निजी क्षेत्रका प्रवद्र्धकलाई दिएको छ । यस खण्डस्थित अमरपुर सबस्टेसनमा विद्युत् जोडिने २५ मेगावाटको काबेली बी १को प्रवद्र्धक अरुण काबेली पावर र ९.९ मेगावाटको इवाखोलाको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई मङ्गलबार जानकारी दिइएको हो ।
‘आयोजनाहरुबाट उत्पादित विद्युत् अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय ग्रिड प्रणालीमा जुनसुकै बेला जोड्न सकिने जानकारी गराएका छौं’, आयोजना प्रमुख द्विवेदीले भने । ३७.६ मेगावाटको काबेली ‘ए’ आयोजनाको विद्युत् पनि यही सबस्टेसनमा जोडिने छ ।
काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना राष्ट्रिय ग्रिड प्रणालीमा जोडिइसकेका छन् । पहिलो खण्डमा करिब ८४ मेगावाट विद्युत् यसअघि नै जोडिएको थियो ।