काठमाडौं। अमेरिकाको न्यूयोर्क निवासी ५६ वर्षीय एल्बर्ट ग्रीनवुडले अवकाशपछि बढ्दो जीवनयापन खर्चका कारण अमेरिका छाडेर नेपाल बसाइँ सरेका छन्।
सन् २०२३ मा पत्नीको साथ नेपाल आएका ग्रीनवुड हाल काठमाडौंमा परिवारसँग सन्तुष्ट र सहज जीवन बिताइरहेका छन्।
उच्च तलब पाइने ब्रान्ड म्यानेजमेन्ट र बिजनेस डेभलपमेन्टको क्षेत्रमा लामो समय काम गरेका ग्रीनवुडलाई अमेरिका बसेर अवकासको जीवन बिताउनु आर्थिक रूपमा चुनौतीपूर्ण हुने चिन्ता थियो। त्यही कारण उनले विदेशमा सस्तो र शान्त जीवन बिताउन सकिने विकल्प खोज्न थाले।
उनको पत्नी काठमाडौंमै हुर्किएकी भएकाले उनीहरूले नेपाल बसाइँ सर्न निर्णय गरे। ग्रीनवुड भन्छन्, 'यहाँ हामी निकै राम्रोसँग बाँचिरहेका छौँ, जुन स्तरको जीवन अमेरिकामा जिउन धेरै खर्च लाग्थ्यो।'
ग्रीनवुडका अनुसार उनका बचत र रिटायरमेन्ट आयले नेपालमा शान्त र कम दबाब युक्त जीवन बिताउन सकिन्छ। तर उनी स्वीकार गर्छन्, 'यदि, नेपालसँग व्यक्तिगत सम्बन्ध नहुने हो। यो निर्णय सजिलो नहुन सक्छ।'
'समान सुविधासहित अमेरिका बस्न निकै धेरै पैसा चाहिन्छ,' उनी भन्छन्, 'तर सबैको अनुभव सफल हुँदैन। ठूलो परिवार भएकाहरूले त परिवारको अभाव पनि महसुस गर्न सक्छन्।'
फिलाडेल्फियामा हुर्किएका ग्रीनवुडले न्यूयोर्क र बोस्टनमा अध्ययन गरे। एमबीए पूरा गरेपछि उनले थुप्रै अन्तर्राष्ट्रिय कम्पनीमा काम गरे।
केही वर्षमै ६ अंकको वार्षिक आम्दानी हुने उनी पछिल्लो समय न्यूयोर्कको एक एशियन इन्स्पायर्ड फुड उत्पादन कम्पनीमा बिक्री विभाग प्रमुख थिए। करिब १० वर्षअघि उनले एक फ्लाइट अटेन्डेन्टबाट हेयर कलोरिस्ट बनेकी महिलासँग विवाह गरे।
अमेरिकामा अवकासको तयारीमा असहजता भोगिरहेका धेरै नागरिकजस्तै ग्रीनवुडले वैकल्पिक जीवनशैली रोजेका हुन्। उनीजस्तै थुप्रै अमेरिकी नागरिकले अवकासको खर्च थेग्न कठिन हुने चिन्तासहित विदेशमा जीवन सुरु गरिरहेका छन्।