काठमाडौं। पछिल्लो पटक नेपाली बजारमा थपिएको विद्युतीय सवारी साधन (इभी) जिली ग्यालेक्सी ई–५ हो। ग्यालेक्सी ई–५ एलआरआर ग्रुपले नेपाली बजारमा भित्र्याए पनि औपचारिक रुपमा सार्वजनिक गरेको छैन।
नेपाली बजारमा ईभीका मोडलहरू दिनप्रतिदिन भित्रिने क्रम जारी छ। नयाँ मोडल बजारमा आएसँगै गाडी किन्न रोजी छाडी गर्ने ग्राहकका लागि विकल्प बढिरहेको छ। ग्राहकका लागि विकल्प बढ्दै जाँदा नेपाल भित्रिएका ब्रान्डबीच पनि तीव्र प्रतिस्पर्धा चलिरहेको छ।
भर्खरै नेपाल भित्रिएको ब्रान्ड जिली ग्यालेक्सी ई–५ र बिवाइडी एटो थ्रीबीच मूल्य, रेन्ज ब्याट्रीलगायतमा प्रतिस्पर्धा हुने देखिएको छ। बिवाइडी एटो थ्री र जिली ग्यालेक्सी ई–५ दुवै चिनियाँ ब्रान्ड हुन्। बिवाइडी एटो थ्री पहिलेदेखि नेपाली बजारमा परिचित ब्रान्ड हो। जिली ग्यालेक्सी ई–५ भर्खरै नेपाली बजारमा प्रवेश गरेको ब्रान्ड हो।
नेपाली बजारमा बिवाइडी एटो थ्रीका दुई भेरियन्ट उपलब्ध छन्। ग्यालेक्सी ई–५ को पनि दुई भेरियन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ। बिवाइडी एटो थ्रीको सुपरियर भेरियन्टको मूल्य साइमेक्स इंकले ६७ लाख ८० हजार रुपैयाँ निर्धारण गरेको छ। ग्लालेक्सी ई–५ पनि बिवाइडीकै आसपासमा आउने एलआरआर ग्रुपले जनाएको छ।
ब्याट्री तथा मोटर
बिवाइडी एटो थ्रीमा ६०.४८ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग भएको छ।
यसमा १०० किलोवाटको मोटर जडान गरिएको छ। जिली ग्यालेक्सी ई–५ मा ६०.२२ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ। यसमा १६० किलोवाटको मोटर जडान गरिएको छ।
साइज
बिवाइडी एटो थ्रीको लम्बाई ४४५५ एमएम, चौडाई १८७५ एमएम र उचाई १६१५ एमएम छ। गाडीमा २७२० ह्विल बेस दिइएको छ भने १७५ एमएम ग्राउन्ड क्लेरेन्स दिइएको छ।
जिली ग्यालेक्सी ई–५ कोे लम्बाई ४६१५ एमएम, चौडाई १९०१ एमएम र उचाई १६७० एमएम छ। यसको ह्रीवलवेस २७५० एमएम छ।
क्याविन फिचर
बिवाइडी एटो थ्रीमा १५.६ इन्चको टचस्क्रिन, प्यानारोमिक सनरुफ ५ इन्चको डिजिटल इन्स्टुमेन्ट प्यानल दिइएको छ। फ्लोटिङ डिस्प्ले पनि पाउन सकिन्छ।
कम्पनीले यो गाडीको सुरक्षामा पनि विशेष ध्यान दिएको छ। एटो थ्रीले युरो एनक्याप परिक्षणमा पाँच स्टार रेटिङ पाएको छ। एटो थ्रीमा सुरक्षाका लागि ७ वटा एयरब्याग पाउन सकिन्छ। यसलाई तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ।
यस्तै, गाडीमा विद्युतीय पार्किङ ब्रेक प्रविधि, एन्टीलक ब्रेकिङ प्रविधि, ट्र्याक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, ब्लाइन्ड स्पोट डिटेक्सन, डोर ओपन वार्निङ, ३६० डिग्री भ्यू मिरर लगायत विशेषता पाउन सकिन्छ।
जिली ग्यालेक्सी ई–५ सुरक्षाको हिसाबले पनि यो एसयूभी एकदमै सशक्त छ। यसले युरो एनक्याप जस्ता अन्तर्राष्ट्रिय सुरक्षा परीक्षणमा फाइभ स्टार रेटिङ पाएको छ। गाडीमा सात वटा एयरब्याग, क्रुज कन्ट्रोल, एमर्जेन्सी ब्रेकिङलगायतका आधुनिक एडास फिचरहरु उपलब्ध छन्।
गाडीको इन्टेरियर डिजाइन अत्यन्तै आकर्षक र प्रविधिमैत्री छ। अगाडिको भागमा १५.४ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले, १०.२ इन्चको डिजिटल क्लस्टर, इलेक्ट्रिक पार्किङ ब्रेक, भेन्टिलेटेड डिस्क ब्रेकहरू छ। यसमा प्रयोग गरिएको फिल्मी अटो ओएसले सहज अनुभव प्रदान गर्ने छ। ड्राइभरको सिटमा हिटेड, भेन्टिलेटेड र मसाजको सुविधा दिइएको छ।
साथै, साउण्ड सिस्टममा १६ स्पिकर प्रयोग गरिएको छ। वायरलेस मोबाइल चार्जर र प्यानोरामिक सनरूफले इन्टेरियरलाई अझै आधुनिक बनाएको छ।