काठमाडौं । बैंकको ब्याजदर अझै घट्ने संकेत देखिएपछि सेयर बजारमा ३२.१५ अंकको उछाल आएको छ । बैंकसँग पर्याप्त मात्रामा लगानी योग्य रकम (तरलता) थुप्रिएकाले ब्याजदर अझै घट्ने देखिएपछि सेयर बजार बढेको हो ।
बैंकको औसत कर्जा पुँजी र निक्षेप अनुपात (सीसीडी) ७७ प्रतिशत मात्रै रहेको र अझै लगानीयोग्य रकम बैंकमै थुप्रिएकाले ब्याजदर घट्ने आँकलनको असर बजारमा परेको हो । केही दिन देखि सुस्ताएको बजार अहिले फेरी चम्किन थालेको हो ।

एकातिर माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विजुली उत्पादन थाल्ने तयारी गरेको र अन्य जलविद्युत् आयोजनाको पनि निर्माण कार्य सम्पन्न भएकाले पनि बजारमा जलविद्युत् कम्पनीको सेयरमा हरियाली छाएको छ ।
त्यसैगरी अजोड इस्योरेन्सले ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णयको असर पनि बजारमा सकारात्मक परेको छ । अजोडकै निर्णयले अन्य निर्जीबन बिमा कम्पनीको सेयर मूल्यमा समेत उछाल आएको छ ।
अजोडजस्तै हैसियतमा रहेका अन्य निर्जीबन बिमा कम्पनीले पनि हकप्रद ल्याउन सक्ने अनुमानका आधारमा अन्य बिमा कम्पनीको सेयर मूल्यमा उछाल आएको हो । एकातिर बैंकको ब्याजदर अझै ओरालो लाग्ने, तामाकोसीले बैशाखभित्र विजुली उत्पादन गर्ने र अजोडले हकप्रद ल्याउने निर्णय गरे पछि बजारमा त्यसको सकारात्मक असर देखा परेको हो ।
मंगलबारको कारोबारले पनि साथ दिएको छ । मंगलबार ६ अर्ब १८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबार ४ अर्ब रुपैयाँको कारोबार भएको थियो ।

सोमबार कारोबार र सेयर सूचक दुवै खुम्चिएको थियो । कारोबार रकम घटेकाले बजार अझै घट्ने आँकलन गरिए पनि त्यो भएन ।
सेयर बजारलाई बैंकको ब्याजदरले प्रत्यक्ष प्रभाव पार्छ । चैतपछि बैंकको ब्याजदर अझै घट्ने सम्भावना बढेपछि बजारले उकालो यात्रा तय गरेको सेयर लगानीकर्ताको बुझाइ छ ।
अजोडकै कारण निर्जीबन बिमा समूहको ३ प्रतिशत भन्दा बढी मूल्य बढेको छ । होटल एण्ड टुरिजम समूहको पनि ३ प्रतिशत भन्दा बढी मूल्य बढेको छ । माथिल्लो तामाकोसीको उत्पादन आउने हल्लाले समग्र जलविद्युत् समूहको पनि ३ प्रतिशत भन्दा बढीले बढेको छ ।
कहिल्यै सुल्झिएन मेरो सेयरको समस्या
मंगलबार दिनभर मेरो सेयर खुलेन । कतिपय लगानीकर्ताले सोमबार किनेको सेयर मंगलबार इडीआइएस गरिसक्नुपर्ने थियो । तर, सीडीएसीको चरम लापरबाहीका कारण लाखौ लगानीकर्ता क्लोजआउटको समस्यामा पर्ने देखिएको छ । बारम्बार मेरो सेयरमा समस्या आउँदा पनि नियामक निकाय धितोपत्र बोर्डदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा सीडीएससी समेत जिम्मेवार नबन्दा लगानीकर्ताले हैरानी खेप्नु परिरहेको छ ।