काठमाडौं । कर्मचारी सञ्चय कोषलाई क्रसहोल्डिङ नलाग्ने भएको छ । सरकारी र संस्थागत संस्थापक लगानीकर्ता भएकाले सञ्चय कोषलाई क्रसहोल्डिङ लागू नहुने भएको हो । सञ्चय कोषले हालसम्म एक दर्जन बैङ्कमा ७ अर्ब रुपैयाँ सेयर लगानी गरेको छ ।
सञ्चय कोषको लगानीलाई क्रसहोल्डिङ नमानिने राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘राष्ट्र बैङ्कले प्राकृतिक व्यक्तिको क्रसहोल्डिङलाई हेर्न लागेको हो,’ उनले भने, ‘सञ्चय कोषजस्ता संस्थागत र सरकारी लगानीकर्तालाई क्रसहोल्डिङले असर गर्दैन ।’ प्राकृतिक व्यक्ति संस्थापक भएकाको क्रसहोल्डिङ विवरण मागिएको उनले सुनाए ।
सञ्चय कोषले ९ ओटा वाणिज्य बैङ्क र ३ ओटा विकास बैङ्कमा सेयर लगानी गरेको छ । अहिलेको बजार मूल्यअनुसार सेयरको मूल्य ३० अर्ब रुपैयाँभन्दा बढी छ ।
केन्द्रीय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई मर्जरमा लैजान ०.५ प्रतिशत क्रसहोल्डिङ लगानीको विवरण बैङ्क तथा वित्तीय संस्थालाई साउन १५ गते आन्तरिक लिखित सर्कुलर गर्दै सात दिनभित्र विवरण बुझाइसक्न भनेको छ । केन्द्रीय बैङ्कको निर्देशनले बैङ्क तथा वित्तीय संस्था थप दबाबमा परेका छन् ।
ऐनले नै बैङ्क तथा वित्तीय संस्थामा २५ प्रतिशतसम्म लगानी गर्न अधिकार दिएकाले क्रसहोल्डिङ लागू नहुने कोषका वरिष्ठ प्रबन्धक अर्जुनकुमार गौतमले बताए ।
गौतमका अनुसार सञ्चय कोषले बैङ्क अफ काठमाण्डू, सिभिल, सेञ्चुरी कमर्शियल, देव विकास, हिमालयन, महालक्ष्मी विकास, नेपाल बैङ्क, एनएमबी, नेपाल एसबीआई, सिन्धु विकास, सनराइज र सानिमा बैङ्कमा संस्थापक लगानीकर्ताका रुपमा लगानी गरेको छ ।
सञ्चय कोषले बैङ्क अफ काठमाण्डूमा १ अर्ब ७३ करोड ४७ लाख, सिभिलमा ४५ करोड, सेन्चुरीमा ५ करोड २ लाख, देव विकासमा ३५ करोड ७९ लाख, हिमालयनमा ९ करोड ८३ लाख, महालक्ष्मी विकासमा २ करोड ४० लाख तथा नेपाल बैङ्कमा ९९ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ ।
यसैगरी प्रभु बैङ्कमा १० करोड २५ लाख, नेपाल एसबीआईमा ४५ करोड ८० लाख, सिन्धु विकासमा ३ करोड ३८ लाख, सनराइजमा १० करोड र सानिमामा ४९ करोड रुपैयाँ सेयर लगानी गरेको छ ।
कोषले बैङ्कबाहेक प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड तथा राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा संस्थापक सेयर खरिद गरेको छ । नेप्सेमा सूचीकृत नभएका विद्युत् उत्पादन कम्पनी लिमिटेड र बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमा पनि सेयर लगानी गरेको छ ।
यस्तै कोषले सिटिजन्स बैङ्कको सहायक सीबीआईएल क्यापिटल लिमिटेडको १५ प्रतिशत संस्थापक सेयर खरिद गरेको छ । जलविद्युत् लगानीमा १ अर्ब, प्रभु इन्स्योरेन्समा १० करोड २५ लाख, राष्ट्रिय बिमामा २९ करोड ७९ लाख, विद्युत् उत्पादनमा ३३ करोड, वेतन कर्णालीमा १० करोड ५० लाख र सीबीआईएल क्यापिटलमा ३ करोड ४२ लाख रुपैयाँ सेयर लगानी गरेको छ ।