काठमाडौं । बैंकले सेयर लगानीकर्तालाई बोलाइ–बोलाइ ऋण दिन थालेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने देखिएको छ । बैंक तथा वित्तीय संस्थामा अत्यधिक तरलता थुप्रिन थालेपछि बैंकले सस्तो ब्याजदरमै पर्याप्त मात्रामा ऋण प्रवाह गर्न थाले पछि बजार उकालोतर्फ लाग्ने देखिएको हो ।
एकातिर बैंकमा लगानीयोग्य रकम बढ्दै गएको र अर्कोतिर बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासको रिपोर्ट पनि राम्रो आउन सक्ने हल्ला बजारमा फैलिएपछि त्यसको असर सूचकमा देखिएको हो ।
दोस्रो त्रैमासमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको नाफा घटेको थियो । तर, तेस्रो त्रैमासमा बैंकहरुले माइक्रोफाइनान्सको सेयर बिक्रीबाट राम्रो आम्दानी गरेकाले नाफा सुधारिएको छ । त्यही भएर पनि बजारमा त्यसको सकारात्मक असर पर्ने देखिएको सेयर लगानीकर्ता बताउँछन् ।
सूचीकृत कम्पनीको लाभांश आइसकेको छ । दोस्रो त्रैमासको रिपोर्ट पनि पुसमै सार्वजनिक भइसकेको हो । यो बेला पनि बजार धिमा गतिमै उकालो लागेको थियो । तर, अब सबै कम्पनीको तेस्रो त्रैमासको रिपोर्टले बजारमा आशा जगाउने देखिएको छ ।
एकातिर सरकारले पनि पुँजीगत खर्च बढाउने देखिन्छ । त्यो हुने वित्तिकै बजारमा फेरि लगानीयोग्य रकम आइहाल्छ । यसले ब्याजदर घटाउनमा सहयोग गर्ने कतिपय बैंकरहरुको बुझाइ छ । ब्याजदर ओरालो लाग्ने वित्तिकै बजार उकालो यात्रातर्फ हुने लगानीकर्ताको अनुमान छ ।

गत शुक्रबारदेखि आइतबारसम्म बजार बन्द भयो । यदि त्यो बेला सार्वजनिक बिदा वा शुक्रबार नपरेको भए सेयर बजारमा त्रैमासको दबाब पर्न सक्थ्यो । तर, सार्वजनिक बिदा परेको सेयर बेचेर ब्याज बुझाउन मिलेन । चैतको ब्याज बुझाउने समय अब एक दिन मात्रै बाँकी छ ।
सोमबार पनि नेप्से दोहोरो अंकले बढेर रोकिएको छ । सोमबार १७.२० अंक बढेर सूचक २६९१.५६ अंकमा पुगेर रोकिएको छ । यो अहिलेसम्मकै उच्च अंक पनि हो । गत मंगलबार यस अघिको उच्च अंक २६७४.४७ अंकमा थियो । त्यसका अलवा कारोबार रकम पनि ७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । कारोबार रकम बढ्नु बजारका लागि सकारात्मक मानिन्छ । ६ अर्ब रुपैयाँ भन्दा बढी कारोबार हुने वित्तिकै बजार बढ्न सक्ने लगानीकर्ताको अनुमान छ ।
सोमबार सबैभन्दा बढी कारोबार गर्नेमा एनआईसी एसिया बैंक छ । यसको २४ करोड ३२ लाख, नबिल बैंकको २४ करोड १३ लाख, निफ्राको २१ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनेबेच भएको छ । सोमबार एनआईसी लघुवित्त, महिला लघुवित्त, छ्याङदी जलविद्युत कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंकको ९ प्रतिशत भन्दा बढी मूल्य बढेको छ ।