काठमाडौं । नेपाल भूमि सूचना पद्धति (नेपाल ल्याण्ड इनफरमेशन सिस्टम–नेलिज) तथा ‘मेरो कित्ता’ कार्यक्रमको आज शुभारम्भ गरिएको छ । घरमै बसेर जग्गाको नक्शा प्रकाशन, राजश्व भुक्तानीलगायत व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सरकारले आजदेखि शुरु गरेको हो । मेरो कित्ताको वेबसाइट ‘लग इन’ गरेर उक्त सेवा लिन सकिने छ ।
नापी विभागद्वारा आज यहाँ नेलिज तथा ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रविधिको विकासमा जोड दिएको बताए । “सकभर आफैँले प्रविधिको विकास गर्ने हो, नसके अरु देशबाट लिन्छौँ”, प्रधानमन्त्री ओलीले भने, “हामीले लगानी र प्रविधि आयातमा जोड दिएका छौँ ।” सो अवसरमा प्रधानमन्त्री ओलीले कलङ्की कार्यालयकी सेवाग्राही दमन्ता ढुङ्गानालाई नक्शाको प्रकाशन पनि हस्तान्तरण गरे ।
सरकारले सवै क्षेत्रमा आधुनिकीकरणको विकास गर्न खोजेको स्पष्ट पार्दै उहाँले जमीनको उपभोग र कृषि क्षेत्रमा आत्मनिर्भर हुन जरुरी रहेको बताए । उत्पादकत्वमा जोड दिनुपर्ने जनाउँदै उनले ठूलो मात्रामा उत्पादन गरी आन्तरिक र अन्तरराष्ट्रिय बजार खोज्न सुझाव दिए ।
सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सेवाग्राहीले सास्ती खेप्नुपरेका कारण अनलाइन सेवामा जोड दिइएको बताइन। “नापी र मालपोत कार्यालयमा सेवा लिन आउनेले दुःख पाउने गरेका छन्, सहज सेवा दिन हामीले यो सेवा शुरु गरेका हौँ”, उनले भने ।
अब सबैले प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिँदै डा तुम्बाहाङ्फेले भावी सन्ततिका लागि यो अति आवश्यक भएको जनाए। कर्मचारीका बारेमा जनगुनासो बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै उनले कर्मचारीले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिए। “बेथितिको अन्त्य गर्न नेलिज र मेरो कित्ता ल्याएका हौँ”, डा तुम्बाहाङ्फेले भनिन् ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीले सेवा चुस्तदुरुस्त र प्रभावकारी बनाउन अनलाइन सेवाको शुरुआत गरिएको जनाउँदै चालु आर्थिक वर्षभित्र काठमाडौँ उपत्यका तथा आगामी आवदेखि देशभरका सबै मालपोत र नापी कार्यालयबाट सो सेवा उपलब्ध गराइने बताए । भूमि व्यवस्था मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सो सेवा आजदेखि काठमाडौँका कलङ्की र डिल्लीबजार तथा भक्तपुर कार्यालयबाट आरम्भ गरिएको जानकारी दिए । रासस