काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन आग्रह गरेका छन्। भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा आागजनी तथा तोडफोड भएका बहुराष्ट्रिय कम्पनी एनसेल तथा चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्सको निरीक्षण गर्दै उनले यस्ता घटनाले लगानीको वातावरण बिग्रने अवस्था आएको भन्दै सरोकारवाला सबैलाई गम्भीर हुन आग्रह गरे।
उनले जेएनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट देशभरि निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योग र व्यक्तिको निजी सम्पत्तीमाथि भएको आगजनी र तोडफोड भएको र यसले दैनिक उत्पादन र रोजगारीमा असर परेको बताए। नेपालमा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्नका लागि यस्ता घटनाले दीर्घकालीन असर पार्ने अध्यक्ष ढकालले बताए।
'नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएको छ । यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ। सरकार, राजनीतिक दल र सरोकारवालालाई लगानीमैत्री वातावरण कायम गर्न आग्रह गर्दछु,' अध्यक्ष ढकालले भने। उनले नेपालका वैदेशिक लगानी भित्र्याउन तथा आन्तरिक लगानी प्रर्वद्धन गर्न महासंघले निरन्तर पहल गरे पनि यस्ता घटनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै क्षेत्रमा नकारात्मक सन्देश जाने धारणा राखे।
नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा निजी क्षेत्रले ८६ प्रतिशतभन्दा बढी योगदान दिएको अवस्थामा लगानीको संरक्षणका लागि उद्योगी व्यवसायीको शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने उनले बताए। उनले यो घटनाले सरकारको समेत राजस्वसमेत गुम्ने अवस्था आएको बताए।
महासंघका अध्यक्ष ढकालसहित उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ कोषाध्यक्ष भरतराज आचार्य र केन्द्रीय सदस्यहरु सैलेन्द्र गुरागाई, डा. राशरण थपलिया, पशुपतिदेव पाण्डे र कमला श्रेष्ठ लगायतले क्षतिग्रस्त संरचनाहरुको निरिक्षण गर्दै आगजनीबाट भएको क्षतिबारे जानकारी लिएका थिए।
महासंघले यस अघि अर्थमन्त्री तथा गृहमन्त्रीसँग भेट गरेर निजी क्षेत्रले अझै पनि शान्ति सुरक्षाको अनुभूति गर्न नसकिरहेकाले सोको प्रत्याभूति दिन, आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तीमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नमाथि कानूनी दायरामा ल्याउन आग्रह गरेको छ। महासंघले निजी क्षेत्रको संरक्षण, सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सरोकारवाला सबै पक्षलाई आग्रह गर्दै आएको छ।