काठमाडौं । ललितपुरको पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनर्निर्माण हुँदै छ । स्थानीय व्यापारी र ललितपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा आर्थिक सङकलन गरी ४ करोड ९३ लाख रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको हो ।
यस्ता राष्ट्रिय सम्पदाहरु टेन्डर प्रक्रियाबाट बनाउँदा अस्तित्व घट्ने हुनाले ललितपुर महानगरपालिका र स्थानीय व्यापारीहरुको आर्थिक सहयोग र काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी)को प्राविधिक सहयोगमा बन्न लागेको भीमसेन मन्दिर पुनर्निर्माण समितिका संयोजक कृष्णलाल महर्जनले बताए ।
‘ऐतिहासिक पुरातत्त्व सम्पदा एवम् मठ मन्दिर महानगरलाई चिनाउने चिनारी हुन्, यिनलाई टेन्डर प्रक्रियामा बनाउँदा यसको पहिचान गुम्ने खतरा हुन्छ,’ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने, ‘अमानतका रुपमा बनाउँदा स्थानीय सरकारको चासो हुन्छ ।’
भीमसेन मन्दिर २०७२ सालको भूकम्प तथा तत्पश्चातका पराकम्पनका कारण कुनै पनि बेला भत्किन सक्ने सम्भावना छ । त्यसैले यसलाई यथाशक्य चाँडो भत्काई पुनर्निर्माण गर्नु पर्ने पुनर्निर्माण समितिको भनाइ छ । ललितपुर उद्योग वाणिज्य सङ्घको अगुवाइ एवम् मङ्गल टोल सुधार सङ्घ तथा ललितपुर महानगरपालिकाको सहयोगमा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्त्व विभागसँग स्वीकृति प्राप्त गरी पुनर्निर्माणको काम थालनी गरेको संयोजक महर्जनले जानकारी दिए ।
भीमसेन मन्दिर पुनर्निर्माणका लागि अहिलेसम्म ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड विनियोजन गरेको, प्रदेश ३ सरकारले ५० लाख एवम् व्यवसायी डा. रोहित रन्जितकारबाट एक करोड रुपैयाँ सहयोग आएको छ । बाँकी सहयोगी दाता आइरहेको संयोजक महर्जनले बताए ।
भीमसेनलाई व्यापारीहरुका आराध्य देवका रुपमा मान्ने गरिन्छ । मन्दिर नेपाल सम्बत ८०१ (सन् १६८२)मा राजा श्रीनिवास मल्लका पालामा निर्माण भएको मन्दिरमा रहेको शिलालेखमा उल्लेख छ । मन्दिर दुई वर्षमा पुनर्निर्माण सम्पन्न गरी सक्ने लक्ष्य छ ।