बागलुङ । तुरतुरे ताल फुटेर आएको बाढीले बगाउँदा अवरुद्ध बनेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग सञ्चालनमा आउन करीब तीन साता लाग्ने भएको छ ।
बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा रहेको तुरतुरे ताल फुट्दा सोमबार मध्यपहाडी लोकमार्गको २०० मिटर सडक बगाएको थियो ।
बाढीले बगाएको क्षेत्रमा नयाँ ट्रयाक खेल्नुपर्ने भएकाले यातायात सञ्चालनमा केही दिन ढिलाइ हुने लोकमार्ग आयोजनाका इन्जिनियर अर्जुन गौतमले बताए । उनका अनुसार १० मिटर माथिबाट नयाँ ट्रयाक खोल्ने काम सुरु भएको छ ।
“भदौको पहिलो साताभित्र यातायात सञ्चालन गर्ने लक्ष्य लिएको छौँ”, उनले भने, “ट्रयाक खोल्ने ठाउँमा ठूलो ढुंगाको चट्टान भएकाले केही समय लाग्ने देखिएको छ ।”
तत्कालका लागि अस्थायी ट्रयाक खोल्ने र पछि पुरानै ठाउँबाट सडक सञ्चालन गर्ने योजना बनाइएको छ । लोकमार्ग पुरानै अवस्थामा फर्काउन समय लाग्ने देखिन्छ ।
“नाम, निशानै नरहने गरी लोकमार्ग भत्केको छ, फेरि पूरै संरचना बनाउनुपर्छ”, इन्जिनियर गौतमले भने ।
गत वर्षपनि त्यही ठाउँमा गएको पहिरोले लामो समय लोकमार्ग अवरुद्ध पारेको थियो । पहिरोले बडीगार्ड खोला थुनिँदा करीब एक सय किमी क्षेत्रफलमा ताल बनेको थियो ।
सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो । लोकमार्ग अवरुद्ध बनेपछि पश्चिम बागलुङको यातायात सेवा प्रभावित बनेको छ । सोमबारदेखि सो क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ ।
सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ ।
पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन ठप्प छन् । लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फपनि सवारीसाधन चल्न सकेका छैनन् ।
सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारीसाधन बडीगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् । बुर्तिबाङ क्षेत्रबाट छुट्ने सवारीसाधन ढोरपाटन नगरपालिका–२ तुरतुरेनजिक आएर रोकिन्छन् ।