काठमाडौं । पछिल्लो समय जलविद्युत क्षेत्रमा वैदेशिक लगानी बढेको छ । गत आर्थिक वर्ष सबैभन्दा बढी वैदेशिक लगानी जलविद्युतमा आएको छ ।
विगतका वर्षहरूमा जलविद्युतमा भन्दा उत्पादनमूलक र सेवा क्षेत्रमा विदेशी लगानी आउने गरेकोमा गत वर्षदेखि जलविद्युतमा विदेशी लगानी बढेको सरकारी तथ्यांकले देखाएको छ । यो वर्ष पनि जलविद्युतमा सबैभन्दा बढी वैदेशिक लगानी आउने संभावना छ ।
गत वर्ष जलविद्युतमा १६ अर्ब ७ करोड २६ लाख रुपैयाँ वैदेशिक लगानी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो कुल वैदेशिक लगानीको ८१.७ प्रतिशत हो । केन्द्रीय बैंकका अनुसार गत वर्ष १९ अर्ब ५० करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।
गत वर्ष जलविद्युत क्षेत्रबाट ३ करोड २३ लाख रुपैयाँ लाभांशको रूपमा बाहिरिएको छ । अघिल्लो वर्ष खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ६ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको भन्दा गत वर्ष वैदेशिक लगानी झण्डै ७ अर्ब रुपैयाँ बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष वैदेशिक लगानी, जलविद्युत, उत्पादनमूलक उद्योग र खानी क्षेत्रमा आएको छ ।
सरकारले जलविद्युतमा लगानी गर्न छाडेर निजी क्षेत्रलाई अघि बढाएपछि नेपालीसँगको साझेदारीमा ठूला आयोजना बनाउन बहुराष्ट्रिय कम्पनीहरू आउने क्रम बढेको हो ।
चीनको सिनो हाइड्रो कर्पोरेसनको लगानीमा ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए, चाइना वाटर एन्ड इनर्जी कर्पोरेसनको लगानीमा २५ मेगावाटको माथिल्लो मादी ए, नर्वेजियनको लगानीमा ६० मेगावाटको माथिल्लो खिम्ती, अमेरिकी कम्पनी पान्डा इनर्जीको लगानीमा ४५ मेगावाटको माथिल्लो भोटेकोसी आयोजना सञ्चालनमा छन् ।
माथिल्लो भोटेकोसी आयोजना नेपालीको भइसकेको छ । आयोजनामा ९५ प्रतिशत स्वामित्व नेपालको तारा म्यानेजमेन्ट र ५ प्रतिशत अमेरिकी कम्पनी हार्जा इन्टरनेसनलको छ ।
माथिल्लो मस्र्याङदीको ९० प्रतिशत स्वामित्व सिनो हाइड्रो र बाँकी १० प्रतिशत चितवन कोइ समूहको छ । माथिल्लो मादीमा ८० प्रतिशत बढी चाइना वाटर र २० प्रतिशत गोरखा कस्ट्रक्सन कम्पनी लगानी छ । यस्तै भारत सरकारको कम्पनी एसजेबीएन लिमिटेडको लगानीमा ९०० मेगावाटको अरुण तेस्रो आयोजना निर्माण भइरहेको छ ।
यसैगरी सोही कम्पनीले ६७९ मेगावाटको तल्लो अरुण आयोजनामा पनि छनौट भइसकेको छ । यसमा पनि भारतीय लगानी हुने भएको छ ।भारतको एस्सेल क्लिन इनर्जीको लगानीमा ८२ मेगावाटको तल्लो सोलु आयोजना निर्माण भइरहेको छ । यस्तै चिनियाँ लगानीमा १२० मेगावाटको लाङटाङ आयोजना पनि निर्माणको चरणमा रहेको छ ।
सबैभन्दा ठूलो लगानी ल्याउनेमा २४५ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजना रहेको छ । उसको विदेशी बैंकबाट ऋण स्वीकृत भएकाले लगानी ल्याउने तयारीमा छ । माथिल्लो त्रिशूली–१ मा ५० अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी आउने भएको छ ।
बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को साझेदारीमा आगामी ५ वर्षमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याउन ३ वटा चिनियाँ कम्पनीबीच सम्झौता भएको छ । आयोजनाको निर्माण सुरु गर्ने तयारी भएको छ । विदेशी लगानीमा बन्ने आयोजनासंग नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलरमा विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गर्दै आएको छ ।
नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको देखिन्छ । सेवा क्षेत्रअन्तर्गत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा छ । त्यसैगरी औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युत क्षेत्रमा २० प्रतिशत वैदेशिक लगानी छ ।
त्यसैगरी, २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशहरूको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात ५६ अर्ब ५ करोड र त्यसपछि क्रमशः चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड र सिंगापुरबाट ८ अर्ब ७३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।