काठमाडौं। अगष्ट महिनामा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ कर नीतिले ठूलो असर पारेको तथ्यांक बुधबार सार्वजनिक भएको छ। तथ्यांकअनुसार अटो ढुवानी एक चौथाइभन्दा बढी घटेको छ।
अमेरिकी राष्ट्रपतिले बजार र विश्वव्यापी व्यापारमा हलचल ल्याउने गरी विभिन्न देशमा कर लगाउने घोषणा गरेपछि यो पछिल्लो ठूलो गिरावट देखिएको हो। ब्लुमबर्गका अनुसार अमेरिकातर्फको जापानी सामानको मूल्य १३ दशमलव आठ प्रतिशतले घटेको यो चार वर्षकै सबैभन्दा ठूलो कमी हो।
जापानको वित्त मन्त्रालयअनुसार अटो निर्यात २८ दशमलव चार प्रतिशत र अटो पार्टस् सात दशमलव एक प्रतिशतले घटेका छन्। वर्षको सुरुदेखि ट्रम्पको व्यापार युद्धका कारण कार तथा सवारी साधनको ढुवानीमा निरन्तर गिरावट आएको छ।
अमेरिकातर्फ हुने जापानी निर्यातको झन्डै एक तिहाई हिस्सा ओगट्ने अटो उद्योग २७ दशमलव पाँच प्रतिशत लेवीको मारमा परेको छ। यद्यपि, मंगलबार लागू भएको नयाँ व्यापार सम्झौतापछि जापानी अटोमा केही कम अमेरिकी शुल्क लागू भएको छ। अब कारलगायतका सवारी साधनले अन्य धेरै वस्तु सरह १५ प्रतिशत टोल भुक्तान गर्नुपर्ने छ।
सम्झौताको कार्यान्वयनलाई जापानका उद्योगका लागि अस्थायी जित मानिएको छ। तर लेवीहरूको दबाबका कारण जापानी व्यापारिक लबीहरूले टोकियोले थप वार्ताअघि बढाउने अपेक्षा राखेका छन्।
अमेरिकी उत्पादन बढाउन र विशाल व्यापार घाटा कम गर्न ट्रम्पले विश्वभरका देशहरूमा उच्च आयात भन्सार शुल्क लगाएका छन्। जापानको अटोमोबाइल उद्योगले-टोयोटा र होन्डा जस्ता ठूला कम्पनीसहित-देशको कुल रोजगारीको करिब आठ प्रतिशत हिस्सा ओगट्छ।
ट्रम्पले लामो समयदेखि आलोचना गर्दै आएको अमेरिकासँगको जापानी व्यापार अधिशेष अगष्टमा ५० प्रतिशतले घटेर तीन खर्ब २४ अर्ब येन (दुई अर्ब २१ करोड डलर)मा सीमित भएको छ।