काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर दिनहुँ नयाँ रेकर्ड कायम भएको छ । बिहीबार सुनको मूल्य ५०० बढेर तोलाको ७० हजार रुपैयाँ पुगेको छ । बुधबार सुनको मूल्य प्रतितोला ६९ हजार ५०० रुपैयाँ थियो । यो हालसम्म कै सर्वाधिक मूल्य हो ।
साउनको सुरुदेखि नै सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साउन १ गते प्रतितोला सुनको मूल्य ६४ हजार ५०० रुपैयाँ थियो । साउनयता सुनको भाउ ५ हजार ५०० रुपैयाँ बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा बढेपछि यसको असर नेपाली बजारमा परेको हो । अहिले स्थानीय बजारमा किन्ने भन्दा बेच्ने बढी रहेको महासङ्घले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय तनाव जारी रहेकाले सुनको भाउ अझ बढ्ने सम्भावना रहेको महासङ्घ पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनमो मूल्य प्रति आउन्स १ हजार ५०० डलर पुगेको शाक्यले जानकारी दिए ।
चीन र अमेरिकाबीचको व्यापार युद्धले अन्तर्राष्ट्रिय बजार अस्थिर बन्दा धेरै लगानीकर्ता सुनतर्फ आकर्षित भएको हुँदा मूल्य बढेको शाक्यले बताए । त्यसमा इरानसँग अमेरिका र बेलायतको तनाव, उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले कोरिया क्षेत्रमा देखिएको तनावले पनि थप असर पारेको हो ।
चीन र अमेरिकाको व्यापार युद्धसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको अर्थतन्त्रका लागि लिएको नीतिले पनि सुनको भाउ बढाउन भूमिका खेलेको देखिएको छ ।
अमेरिकाले लिएको नीतिका कारण इन्धनको भाउ र सेयर बजारमा ओरालो लाग्दा लगानीकर्ताले सुनलाई सुरक्षित क्षेत्रका रुपमा लिएका छन् । गत शुक्रबार चीनसँगको वार्ता निश्कर्षविहीन भएपछि ट्रम्पले थप वस्तुमा १० प्रतिशत भन्सार शुल्क लगाएका छन् ।
पछिल्लो समयमा जम्मु र कास्मिरको विषयमा भारतले लिएको निर्णयको विरुद्धमा पाकिस्तान र चीन उभिएपछि त्यहाँ झन तनाव बढ्ने देखिन्छ । कास्मिरको तनावले गर्दा भारतीय रुपैयाँ कमजोर भएपछि यसको असर समेत नेपालमा परेको हो ।
नेपाल राष्ट्र बैङ्कले बिहीबार १ डलर बराबर ११३ रुपैयाँ ७२ पैसा तोकेको छ । डलरसँग भारु कमजोर भएपछि यसको असर नेपाली मुद्रामा पनि परेको हो ।
नेपालमा दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको महासङ्घले जनाएको छ । भाउ बढेपछि घटेर दैनिक १० किलोको हाराहारीमा मात्र बिक्री भइरहेको छ । बजारमा अहिले किन्ने भन्दा बेच्ने बढी देखिएका छन् ।