काठमाडौं । सरकारले बैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरेपछि उद्योगीहरुले आफ्नो उद्योगको क्षमतामा भारी कटौती गर्न थालेका छन् ।
बजारमा उत्पादित सामानको मागमा भारी गिरावट आउने र गोदाममा स्टकको व्यवस्थापन गर्न कठिन हुने देखिएपछि क्षमता घटाउन थालेका हुन् । ‘बजारमा माग नहुने वित्तिकै उत्पादन गर्नुको कुनै अर्थ छैन्,’ एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले भने, ‘त्यही भएर उद्योगीले उद्योगको क्षमता घटाएका छन् ।’
उद्योगको क्षमता बढ्ने वा नबढ्ने भन्ने बजारको मागका आधारमा हुने उनको भनाइ छ । अहिले उद्योगीले घाटा खाएरै भए पनि सामान बेच्न लागेका छन् । महँगो मूल्यमा कच्चा पदार्थ किनेर ल्याएका उद्योगीले पनि लागत भन्दा सस्तोमै सामान बेचिरहेका छन् ।
सरकारले १६ गतेदेखि १५ दिनसम्म निषेधाज्ञा जारी गर्न लागे पछि उद्योगीले पनि उत्पादनमा ४० प्रतिशत कटौती गर्न थालेका छन् । खासगरी, सिमेन्ट, स्टिल उद्योगलगायतले अहिले धमाधम उत्पादन कटौती गरिरहेका छन् ।
तर, दैनिक उपभोग्य वस्तुको उत्पादनमा कुनै कमी नआएको उद्योगीहरुले बताएका छन् । सरकारले अत्यावश्यक वस्तुको ढुवानीलाई सहज बनाउने गरी निषेधाज्ञा गरेकाले खाद्यान्न उद्योगको उत्पादनमा हुनै ह्रास नआएको सम्बद्ध उद्योगीहरु बताउँछन् । पहिलो चरणको कोभिडबाट विस्तारै बाहिर निस्किँदै गरेका उद्योगहरु पुन संकटतर्फ धकेलिएका छन् ।
अक्सिजनको अभावले धमाधम बन्द हुँदै उद्योग
सरकारले उद्योगमा खपत गरिरहेको अक्सिजनको प्रयोगलाई कम गर्न आग्रह गरेपछि त्यसको असर पनि उद्योगमा परेको छ । उद्योगमा अक्सिजन अनिवार्य आवश्यक पर्छ । तर, सरकारले कोभिडका विरामीलाई बचाउनका लागि अक्सिजन आवश्यक भएको र तत्काल उद्योगलाई खपत नगर्न आग्रह गरेपछि त्यसको असर पनि उद्योगमा परेको हो ।
‘सबैभन्दा पहिला मानव स्वास्थ्य नै हो,’ अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले भने, ‘त्यही भएर उद्योगले अक्सिजन खपत बन्द गरेको छ । उद्योगमा कतिपय काम अक्सिजनका माध्यमबाट हुन्छ । अक्सिजन बन्द हुने वित्तिकै काम रोकिने र त्यसले उत्पादनमा असर गर्ने गर्छ ।’