काठमाडौं । मंगलबार एकाएक हौसिएको सेयर बजार बुधबार भने सुस्ताएको छ । बैशाख २ गते २७३५ अंक पुगेपछि ओरालो झरेको बजार निरन्तर घट्दो क्रममा रहेका बेला मंगलबार एकाएक चमक आएको थियो ।
उच्च विन्दूबाट २३० अंकसम्म तल झरेको बजार एकाएक मंगलबार एकैदिन ९२ अंकले बढेको थियो । तर, बुधबार भने सुरुआती दोहोरो अंक (१३.७९) ले घटेर २५८५.२८ विन्दूमा रोकिएको छ ।
ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा अधिकांश कम्पनीको सेयर खरिदकर्ता उच्च र बिक्रीकर्ता न्यून हुँदा पनि मूल्य वार्गेनिङका कारण बजार ओरालो लागेको छ । सेयर खरिदकर्ताले सस्तोमा किन्न चाहने र बिक्रीकर्ताले उच्च मूल्य तय गर्दा कारोबार रकम समेत प्रभावित भएको छ । ्विगतकेही दिन देखि सेयर कारोबार रकममा गिरावट आएको छ । त्यति मात्रै होइन, कारोबार कित्ता समेत प्रभावित हुँदै आएको छ ।
यद्यपि, मूल्य बार्गेनिङ बजारको सुन्दर पक्ष हो । तर, कतिपय अवस्थामा टीएमएसमा फेक माग र आपूर्तिको सेयर राख्ने गर्दा लगानीकर्ताहरु प्रभावित हुने गरेको पनि आंशका गरिँदै आएको छ ।
टीएमएसमा अनावश्यक माग र आपूर्ति देखाएर मूल्य प्रभावित पार्ने समूह पनि सक्रिय रहने गरेका छन् । कतिपय बेला प्रणाली नै विगारेर बजार बढाउने र घटाउने खेल खेलेको भनेर नेपाल स्टक एक्सचेञ्जलाई पनि आरोप लाग्ने गरेको छ । गत सोमबार एक घन्टासम्म टीएमएसमा समस्या आएको भनेर लगानीकर्ताहरुले सामाजिक सञ्जालमा आक्रोस पोखेका थिए । यद्यपि, नेप्सेले त्यसको आधिकारिक जवाफ भने दिएन ।
मंगलबार १ करोड २ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १० करोड रुपैयाँको मात्रै कारोबार भएको थियो । बुधबार भने ८९ लाख ६५ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि एक करोड भन्दा बढी सेयर कित्ता कारोबार हुँदै आएको थियो । रकम पनि औसतमा ८ अर्ब र अधिकतम करिब ११ अर्ब रुपैयाँसम्म कारोबार पुगेको थियो ।
बजार घटेपनि महिला लघुवित्त र बिशाल बजार कम्पनीले सकारात्मक सर्किट लगाएका छन् । त्यसलाई पच्छ्याउँदै बुधबार नै कारोबार खुलेको सिंगटी हाइड्रो पावरको ७.८४ प्रतिशतले बढेर कारोबार भएको छ । अन्य कम्पनीहरुको भने ५ प्रतिशत भन्दा कम छ ।
यद्यपि, बजार घटेपनि सेयर मूल्य घट्ने दर भने न्यून छ । सबैभन्दा उच्च सेयर मूल्य घटेको पोखरा फाइनान्सको ६.१५ प्रतिशत छ भने त्यसलाई पच्छ्याएको प्रोग्रेसिप फाइनान्सको ४.५० प्रतिशतले घटेको छ । केही दिन देखि नबिल बैंकसँग नाम जोडेर मर्ज हुने भन्दै कारोबार भइरहेको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको सबैभन्दा धेरै २८ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एनसीसीको मूल्य पनि बुधबार १२ रुपैयाँ बढेर प्रतिकित्ता ३४० मा कारोबार भएको छ ।