काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज(नेप्से) बिहीबारदेखि मुलुकका अधिकांश भागमा लागू भएको निषेधज्ञाको बाबजुत अघि बढेको छ । गत मंगलबार ९२ अंकको सकारात्मक छलाङ हानेर बुधबार सुस्ताए पनि बिहीबार भने पुनः नयाँ रफ्तारमा नेप्से अघि बढेको छ ।
कोभिड-१९ महामारीको कारण मुलुकका अधिकांश भागमा बिहीबारदेखि जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेका छन् । मानिसहरुको आवतजावत रोकिएको छ । प्रहरी चेकिङ कडा छ ।
सरकारी कार्यालय,बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी,धितोपत्र कारोबार ,स्वास्थ्य संस्था, सञ्चारमाध्यम खुला भए पनि अन्य अधिकांश क्षेत्र बन्द छन् ।
निर्माण सामग्री र खाद्य तथा औषधीजन्य उद्योग र तीसँग संलग्न सवारी खुला भए पनि अन्य सबै क्षेत्र ठप्प छ । विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना कहरले नेपाल पनि नराम्रोसँग प्रभावित भएको छ ।
यस्तो बेला लगानीका अन्य क्षेत्रहरु खुम्चिदै गएका छन् । अहिले लगानीका लागि एक मात्र विकल्प सेयर बजार बनेको छ । त्यसै पनि पछिल्लो समय सेयर बजार प्रतिलगानीकर्ताहरुको आकर्षण बढ्दै थियो ।
कोभिड-१९ ले अन्य क्षेत्र ठप्प भएपछि फेरि बजारमा उत्साह देखिने संकेत मिलेको छ । सूचीकृत कम्पनीहरुको चालू आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण पनि नराम्रो छैन । लगानीका हिसावले अन्य क्षेत्र सुस्ताउँदा बैंक तथा वित्तीय संस्थाहरुलाई लगानीको महत्वपूर्ण क्षेत्रका रुपमा सेयर बजार देखिन्छ ।
अर्कोतिर लगानी संकुचित हुँदा अधिक तरलताका कारण व्याजदर अझै हट्ने आंकलन भइरहेको छ । यसले सेयर बजारलाई उचाल्न थप मद्दत गर्ने लगानीकर्ताको ठम्याइ छ ।
बिहीबार २६११.१ अंकमा रहेको नेप्से छिट्टै ३ हजार कट्ने भन्दै लगानीकर्ताका समूहरुले सामाजिक सञ्जालमा कोकोहोलो मच्चाइरहेका छन् । यसले पनि बजारलाई नजानिदाे तरिकाले प्रभावित बनाइरहेको छ ।
बिहीबार कारोबार खुल्दा २६०१ अंकमा रहेको नेप्से ११ मिनेटमै २५८३ सम्म झरेको थियो । ४० मिनेटअघि २६०३ मा पुगेको नेप्से सवा घण्टामा पुग्दा २५८८ सम्म झर्यो । तर,त्यसपछि विस्तारै उक्लिन थालेको बजार पछाडि फर्केन । लगानी,होटल र पर्यटन उपसमूह बाहेक सबै समूह सूचक उकालो लागेपछि बजारले नयाँ गति समाएको हो ।
बिहीबार कारोबार रकम बढेको छ । बुधबार निकै लामो समयपछिको कारोबार सुस्त हुदै ३ अर्व ९९ करोडमा सीमित भएको सेयर कारोबार बिहीबार ४ अर्ब ३५ करोड पुगेको छ । बिहीबार सेयर कारोबार कित्तामा पनि व्यापक सुधार आएको छ ।
बुधबार ८९ लाख ६५ हजार कित्ता सेयर किनबेच भएकोमा बिहीबार ९८ लाख १८ हजार कित्ता खरिद बिक्री भएको छ । यसले पनि बढ्दो बजारको संकेत गर्छ ।
विगत केही समयपछि कारोबार रकमसँगै कित्तासमेत घट्दै आएको थियो । बजारमा मूल्य बार्गेनिङको दबाबमा लगानीकर्ताहरु छन् । त्यसले कारोबार कित्ता र रकमलाई प्रभावित बनाइरहेको छ ।
बुधबारदेखि कारोबार सुरु भएको सिंगटी हाइड्रोपावर,महिला लघुवित्त र विशालबजार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने त्यसलाई पच्छाउँदै सान्जेन जलविद्युतको ८.५६ प्रतिशतले बढेको छ । बजार बढिरहेपनि केही कम्पनीको सेयर मूल्य भने घटेको छ ।
घटाइको दर भने एकदमै न्यून छ । सबैभन्दा बढी सेयर मूल्य घटेको श्री इन्भेष्टमेन्ट फाइनान्सको २.८ प्रतिशत छ । बिहीबार पनि नेपाल क्रेडिट एण्ड कर्मश(एनसीसी) बैंकको ३० करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नबिल बैंकसँग मर्जको हल्ला चलाएर विगत केही दिनदेखि सेयर खरिद बिक्री भइरहेको एनसीसीको बिहीबार पनि प्रतिकित्ता १२ रुपैयाँले बढेको छ ।