काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमणको महामारीबाट आक्रान्त सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान’को थालनी गरेको छ ।
विपत्तिमा मुलुक पर्दा मुलुकवासीहरूको सहयोगार्थ महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पुर्याउंदै आएका छ । भूकम्पमा होस वा बाढी पहिरोको महाविपत्ति, महासंघले विगतमा पनि अग्रभागमा रहेर सहयोग गर्दै आएको छ ।
एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तरगत पहिलो कार्यक्रमको रूपमा आजबाट हेल्लो डाक्टरको शुभारम्भ भएको छ । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ अभियान अन्तरगत थप अन्य कार्यक्रमहरू समेत ल्याउने तयारीमा महासंघ छ ।
हेल्लो डाक्टर कार्यक्रम महासंघद्वारा सञ्चालन गरिएको हो । जसमा भाइवरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन् ।
हेल्लो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिने कार्य वैशाख २६ गते आइतबारबाट शुरु हुने छ । कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टर मार्फत भरपुर सहयोग लिन सक्नेछन् ।
हेल्लो डाक्टर, भाइवर मार्फत कोभिड संक्रमित विरामी र चिकित्सकबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ । प्रारम्भमा ५ जना डाक्टरहरूबाट परामर्शको कार्य थालनी गरिने महासंघले जनाएको छ ।
त्यसका लागि विहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ । नाम दर्ता गर्न विरामीले २११११२११११ भाइवर नम्वरमा म्यासेज गर्नुपर्ने छ । सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय विरामीलाई पठाइने छ ।
तत्पश्चात डाक्टरहरूले भिडियो कल मार्फत विरामीहरूसँग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् । म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् । यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।
महासंघले थालनी गरेको यो स्वास्थ्य अभियानबाट बढी भन्दा बढी लाभ उठाउन अध्यक्ष शेखर गोल्छाले सबैमा अनुरोध गरेको छन । आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउने कार्यमा महासंघले अग्रभागमा रहेर सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत अध्यक्ष गोल्छाले जनाए ।