काठमाडौं । देशमा महाविपद् वा संकट आइपर्दा निजी क्षेत्रले जहिले पनि सरकारलाई साथ दिएको छ । भूकम्प जादा होस्, बाढी पहिरोले ठूलो जनधन क्षेत्र हुँदा किन नहोस्, वा कोरोनाले देश नै संकटमा परिरहेका बेला पनि निजी क्षेत्रले सहयोगी हातहरु फैल्याउन थालेका छन् ।
कोरोनाले समग्र अर्थव्यवस्था नै खल्बलिएको अवस्थामा पनि निजी क्षेत्रले मन फुकाएर सहयोग गर्नुपर्छ । त्यही भएर नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो अर्गनाइजेशन (गोल्छा ग्रुप)बाट १ करोड रुपैयाँ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग गरेका छन् ।
उनले कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन सहयोग गरेको बताए । एकपछि अर्को व्यवसायीले देश गम्भीर अवस्थामा पुगेको बेला सहयोग गर्नुपर्छ ।
सरकारले पनि संकटमा सहयोग गर्ने व्यवसायीले फरक दृष्टिकोणले हेर्ने गरेको छ । भूकम्पका बेला सहयोग गरेका व्यवसायीले हरेक प्रकारले सहयोग गरेको पाइएको थियो । गत साल लकडाउन हुँदा पनि निजी क्षेत्रले मन फुकाएर सहयोग गरेको थियो । अहिले पनि निजी क्षेत्रले सहयोगी हातहरु फैल्याउन थालेको देखिन्छ ।
गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई रु १ करोड सहयोग हस्तान्तरण गर्दै निजी क्षेत्र पनि दुखमा साथ दिन्छ भन्ने सन्देश दिएको बताए ।
कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पतालमार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जीवन रक्षा गर्न सफल भएको थियो । अस्पतालले सधैँ उत्कृष्ट कार्य गरेकाले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङ्न गर्दै र अहिले दोस्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने हेतुले गोल्छा गु्रपले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
गोल्छा ग्रुपद्वारा प्रदान गरिएको सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरुको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीहरुद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरुको संख्या बढाउने लगायत कोरोनाको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई उपयोग गर्ने बताएको छ ।
गोल्छा गु्रपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘अहिले देश एकदमै विषम परिस्थितिबाट गुज्रिरहेको छ र कोरोनाको यो दोस्रो लहरले हामी सबैलाई एकदमै अप्ठ्यारोमा पारेको छ । यस महामारीको घडीमा हामीले पाटन अस्पताललाई सहयोग गर्न पाउँदा हामी निकै नै खुसी छौँ । हामीले कोरोनाको पहिलो लहर र लकडाउनको बेलामा पनि अन्य केही संस्थाहरुसँग मिलेर कोरोनाविरुद्ध सहकार्य गरेका थियौँ । हामीले लकडाउनका बेला सिंगापूरको परोपकारी संस्था टेमासेक फाउन्डेशनबाट अनुदान प्राप्त १० हजार पिसिआर फर्टिट्यूड किट प्लेन चार्टर्ड गरि ल्याएर सरकारलाई हस्तान्तरण गरेका थियौँ । जुन फ्रन्टलाइनमा कार्य गरिरहेका स्वास्थ्यकर्मीद्वारा देशभरका कोभिड–१९ का बिरामीको परीक्षणका लागि उपयोग गरिएको थियो । हामीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यको थालनी गरेका छौं र भविष्यमा पनि यस सहकार्यलाई निरन्तरता दिने छौं । यो हाम्रो संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत थालिएको स्वास्थ्य क्षेत्र सँगको नयाँ साझेदारी हो।’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगलले भने, ‘गोल्छा गु्रपले हामीलाई यो विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन गरेको यो सहयोग अत्यन्तै समय सापेक्ष भएको छ । यो सहयोगले अवश्य पनि हाम्रा फ्रन्टलाइन स्वास्थ्यकर्मीको पनि मनोबल बढाउने छ । निजी क्षेत्रले यस्तो विषम परिस्थितिसँग जुध्न हामीसँग गरेको यो हातेमालोकालागि गोल्छा गु्रपका कार्यकारी निर्देशक अध्यक्ष जो समग्र निजी क्षेत्रकैे नेतृत्व पनि गर्दै हुनुहुन्छ उहाँलाई धन्यवाद दिन चाहन्छु ।’