काठमाडौं । काठमाडौं मेडिकल कलेज(केएमसी)अस्पताल प्रशासनले अक्सिजन छैन भन्दै आइसीयूका बिरामीलाई बेड खाली गर्न दबाब दिएको छ ।
प्रशासनले बुधबार साझ सूचना टाँस गरी जुनसुकै बेला अक्सिजन सकिने भएकाले तत्कालै अर्को व्यवस्था गर्न सम्पूर्ण बिरामीहरुलाई दबाब दिइरहेको हो ।
१४ दिनदेखि आफ्नो श्रीमतीलाई भेन्टिलेटरमा राखेर उपचार गराइराखेका तुलसी पराजुलीले अस्पतालले सूचना जारी गरेर जुनसुकै बेला अक्सिजन सकिन्छ,तत्कालै अर्को व्यवस्था गर्न भनेपछि आफू चिन्तामा परेको बताए ।
एउटा बिरामीलाई एक सिलिण्डर अक्सिजन ५ देखि ७ मिनेटमा सकिन्छ,यस्तो बेलामा हामीले कति व्यवस्था गर्ने र कहाँबाट गर्ने,उनले भने ।
त्यहाँ बाहिरबाट अक्सिजन ल्याउन समेत प्रशासनको अनुमति चाहिने र प्रशासन कहाँ छ भन्ने जानकारी समेत आफूलाई नभएको उनको भनाई छ ।
अस्पतालले भेन्टिलेटरमै राखेर उपचार गराइरहेका बिरामीलाई समेत डिस्चार्ज गर्न दबाब दिएपछि उपचारमा रहेका बिरामीका आफ्न्तहरु समस्यामा परेका छन् । अहिले हामी अस्पतालका डाक्टरहरुसँग छलफल गर्दै छौं,एक बिरामीका आफ्न्तले भने,प्रशासनको निर्णय सरासर गलत हो ।
अरु अस्पतालले पनि गम्भीर प्रकारका बिरामीहरु नलिने घोषणा गरिरहेको बेला अब हामी कहाँ जाने,ती आफन्तले भने,यसमा सरकारले गम्भीर भएर सोच्नुपर्छ ।