काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेसनको सहकार्यमा कोभिड संक्रमितहरूका लागि आजबाट कमलपोखरीस्थित जैन निकेतनमा ड्राई (अक्सिजन र आपतकालीन उपचार विनाको) आइसाेलेसन सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।
आइसाेलेसन सेन्टरमा प्रारम्भमा जम्मा २६ बेड रहने छन् । आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्दै जाने योजना छ । कोरोना संक्रमणका कारण आइसाेलेसनमा बस्न समस्या परेका निम्न आय भएकाहरूलाई लक्षित गरी उक्त सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो ।
निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउँमा राखी संक्रमण नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्य महासंघको छ ।
आइसाेलेसनका लागि स्थान जैन–निकेतनले उपलव्ध गराएको छ भने आरम्भ फाउण्डेसनले आइसाेलेसनको दैनिक व्यवस्थापन र सञ्चालन गर्ने जिम्मेवारीसहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरी आइशोलेसनमा रहेका संक्रमितहरूको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श सहित औषधि उपचारको प्रवन्ध गर्नेछ । स्थानीय तहमा संक्रमितहरूसंग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्वर २९ ले सहयोग गर्ने छ ।
आइसाेलेसनमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउँसोको खाजाको प्रवन्ध गरिने छ । केन्द्रमा अक्सिजन बाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु उपलव्ध गराइने छ ।
आइसाेलेसनमा रहँदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा विरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय महासंघले गरिदिनेछ । त्यसपछिको सम्पूर्ण व्यवस्थापन विरामी आफैंले गर्नुपर्नेछ ।
केही व्यावहारिक र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रारम्भमा कोभिड संक्रमित एकल महिलाहरूलाई सेन्टरमा सेवा दिन असमर्थ हुने महासंघ स्पष्ट पारेको छ ।
आइसाेलेसन सेन्टर स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका महासंघको कार्यकारिणी समितिका सदस्य रञ्जितराज आचार्यले विभिन्न संघ संस्थाहरूको सहयोग र समन्वयमा यस्ता सेन्टरहरू अन्य ठाउँमा पनि विस्तार गर्दै जाने योजना रहेको र जैन ज्ञान भवनमा सञ्चालनमा ल्याउन लागेको आइशोलेसन सेन्टर स्थापनामा सहयोग गर्ने सबै संघ÷संस्थालाई हार्दिक धन्यवाद दिए ।
महावीर जैन–निकेतनका अध्यक्ष विजय दुगडले भने, ‘संस्थाबाट सधै समाज सेवा र यस्ता कार्यक्रम आयोजना गर्दै आएका छौ, यसरी आफ्नो स्थान उपलव्ध गराई यो महामारीमा केहि गर्न पाएकोमा हामी अत्यन्त खुशी छौं ।’