काठमाडौं । नेपालमा कोरोना भाइरसबाट वैशाखमा मात्रै डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख ७ हजार ९ सय २५ थियो । सो सङ्ख्या बढेर बैशमख ३१ गतेसम्म ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ । एक महिनाको अवधिमा मात्रै १ लाख ५८ हजार ७१ कोरोना सङ्क्रमित थपिएका छन् ।
२०७८ वैशाख १ गते एकैदिन कोरोनाबाट ६ सय ३ जना सङ्क्रमित भएकामा आज एकैदिन सङ्क्रमितको सङ्ख्या आठ हजार ५ सय २० पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण तथा ५ सय ३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
वैशाख १ गतेसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५ सय २६ जना थियो भने आज सो सङ्ख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ । वैशाखमा मात्रै ४ लाख ९६ हजार ९ सय ८४ जनाको पिसिआर परीक्षण गरिएको छ ।
वैशाख महिनामा कोरोनाबाट निको हुनेको सङ्ख्या ४९ हजार ४७ रहेको छ । कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको सङ्ख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ । उक्त सङ्ख्या वैशाख १ गते दुई लाख ७८ हजार ५०६ रहेको थियो । पछिल्लो २४ घण्टामा देशभर छ हजार १३५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या देशभर ह्वात्तै बढेको छ ।
गत वैशाख १ गते सक्रिय सङ्क्रमित ४ हजार ५६ जना रहेकामा हाल उक्त सङ्ख्या बढेर १ लाख ७ हजार ३ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर १ हजार ७ सय ५ सङ्क्रमितको आइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । १ हजार ३ सय ३४ सङ्क्रमितको आइसीयूमा तथा ३ सय ७१ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
सबैभन्दा बढी वाग्मती प्रदेशमा ५ सय ४२ सङ्क्रमित आइसीयूमा तथा २२० सङ्क्रमित भेन्टिलेटरमा छन् । काठमाडौँ उपत्यकामा मात्रै १ सय ८५ सङ्क्रमितको आइसीयूमा तथा १ सय ५ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
काठमाडाैं उपत्यकामा सङ्क्रमित ह्वात्तै बढे
काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । गत वैशाख १ गते उपत्यकामा सङ्क्रमितको सङ्ख्या २ सय ५४ रहेको थियो । सो सङ्ख्या हाल बढेर ३ हजार ३ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ४५८, ललितपुरमा ५५६ तथा भक्तपुरमा ३३५ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
वैशाखमा १ हजार ६ सय ८ जनाले ज्यान गुमाए
वैशाखमा मात्रै कोरोनाबाट १ हजार ६ सय ८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर ४ हजार ६ सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट २ सय ३ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
वैशाख १ गते ३ सङ्क्रमितको मृत्यु भएको थियो । वैशाख १४ गते एकैदिन १८ जनाको मृत्यु भएको थियो ।