काठमाडौं । कोरोना भाइरस महामारीबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्यामा नेपालले चीनलाई उछिनेको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ४ हजार ८५६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो संख्या उत्तरी छिमेकी चीनभन्दा बढी हो। चीनको बुहान शहरबाट कोरोना भाइरसको उत्पत्ति भएको हो ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार चीनमा त्यही अवधिमा कोरोनाभाइरसका कारण ४ हजार ८४६ जनाको मृत्यु भएको छ। बीबीसी भिजुअल एन्ड डेटा जर्नलीजम टीमले तयार पारेको रिपोर्ट अनुसार चीनमा प्रति एक लाखमा ०।३ को मृत्यु भएको छ।
नेपालमा भने प्रति १ लाखमा १५ को मृत्यु भएको छ जुन हाल एसियामै सर्वाधिक सङ्ख्या मध्येमा पर्छ। सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरमा निमोनियाका क्लस्टर केसहरू फेला परेका थिए जसलाई पछि गएर कोरोना भाइरसका रूपमा पहिचान गरिएको थियो।
सन् २०२०को जनवरीमा कोरोना भाइरस सङ्क्रमण विभिन्न देशहरूमा फैलिन सुरु भएको थियो। सन् २०२०को मार्च ११मा विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको थियो। चीनको जनसङ्ख्या १ अर्ब ४४ करोड भन्दा बढी छ भने नेपालको जनसङ्ख्या ३ करोडको हाराहारीमा छ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानका कार्यकारी प्रमुख महेशकुमार मास्के चीनमा भएका कोभिड सङ्क्रमणका घटना र मृत्यु दुबैलाई हेरिनुपर्ने बताउँछन्। भौगोलिक र जनसङ्ख्याका हिसाबले ठूलो राष्ट्र चीनमा पुष्टि भएका सङ्क्रमणका घटना नेपालमा भन्दा कम देखिन्छ।
बीबीसी भिजुअल एन्ड डेटा जर्नालीजम टीमले पछिल्लो पटक अद्यावधिक गरेको तथ्याङ्क अनुसार चीनमा सङ्क्रमितहरूको कुल सङ्ख्या १ लाख २ हजार ६८१ छ। उक्त समयमा नेपालमा ४ लाख ३ १९१ सङ्क्रमण पुष्टि भएको उल्लेख छ।
चीनमा कोभिडको पहिलो लहरका बेला सङ्क्रमितहरूको सङ्ख्या करिब ८६ हजार को हाराहारीमा रहेको र त्यसबेला त्यहाँ करिब ४ हजारको मृत्यु भएको मास्के बताउँछन्।
केही थाहा नभएको बेला चीनले यो महामारीको सामना गर्नुपरेको थियो। चीनको सफलता के कुरामा हो भने उसले नयाँ केस बन्ने स्थिति नै रोक्न सफल भयो, उनले भने।
चीनको अनुसार, नियम र कानुन कडा रहेको र केन्द्रीय निकायले गर्ने नेतृत्व सबल रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बासुदे पाण्डेको बताउँछन्। हाम्रो कमजोरी भनेको कसले कसलाई के भन्ने हो भनेर भन्दा भन्दै जीवन गुमाउने सबैभन्दा ठूलो कुरा छ, उनले भने।
रोगको अनुगमन देखि कनट्याक्ट ट्रेसिङ लगायत सबै कुरामा चुस्त रूपमा नेपालले काम गर्न नसकेको कारण पछिल्लो परिस्थिति उत्पन्न भएको उनी बताउँछन्।
त्यसबाहेक नेपालमा अनुसन्धान र वैज्ञानिक तथ्य विना नै प्रतिरोधी क्षमता बढी भएको भनिएको र ती सबै कुराले पनि जोखिमपूर्ण अवस्थामा नेपाललाई ल्याइपुर्याएको उनको भनाइ छ।
चीनका लागि नेपाली राजदूत समेत रहिसकेका मास्के महामारी नियन्त्रणको सन्दर्भमा चिनियाँ शासन प्रणालीको समेत प्रभाव हुन सक्ने बताउँछन्। सरकार शक्तिशाली रूपमा प्रस्तुत हुन सक्ने हुँदा र प्रविधिका हिसाबले समेत निकै अगाडि भएकाले कोभिड नियन्त्रणको काम नेपालमाभन्दा बढी प्रभावकारी रूपमा चीनमा भएको होला भन्न सकिने उनको भनाइ छ।
चीन जस्तो ठूलो देशमा दोस्रो लहर त्यति साह्रो छैन। अहिले त्यति धेरै केसहरू छैन। भनेपछि हामीले हेर्नुपर्ने कुरा के हो भने पहिलो लहरपछि उसले के अनुभव लिएर कसरी दोस्रोबाट बचाइरहेका छन् भन्ने कुराहरू हेर्न जरुरी छ, उनले भने त्यो भनेको अहिले पनि उनीहरूले व्यक्तिगत दुरी कायम राख्ने र नियन्त्रणका उपाय नै अपनाएको देखिन्छ। धेरै भन्दा धेरै मानिसहरूलाई खोप दिएर प्रतिरोधी बनाउने उनीहरूको रणनीति देखिन्छ।
हाल देखिएको कोभिडको भेरिअन्ट चीनमा सुरु भएको भेरिअन्ट भन्दा निकै बढी सङ्क्रामक रहेको पाण्डे बताउँछन्। दोस्रो लहरका बेला समेत सरकार अस्पतालको व्यवस्थापनमा चुकेको र त्यसले गर्दा नेपालमा मानवीय क्षति बढी भएको पाण्डेको बुझाइ छ।
दोस्रो लहर आउँछ भन्ने थाहा हुँदा हुँदै हामी स्लो डाउन भयौँ। सङ्घीय सरकारबाट गर्ने योजना पनि राम्रो सँग गर्न सकिएन। योजनाभन्दा पनि अस्पतालमा कति बिरामी हुन्छन् भन्ने अनुमानका आधारमा बेडको उपलब्धता, अक्सिजनको आपूर्ति लगायतका विषयमा हामीले काम गर्न सकिएन। जो चिनियाँहरूले धेरै राम्रोसँग गर्छन्, पाण्डेले भने।
चीनमा प्रति १०० जनामा २५.५ जनाले कोभिड विरुद्धको खोप प्राप्त गरेका छन्। नेपालमा त्यो सङ्ख्या ८.४ छ। अहिले पनि चीनका मानिसहरूमा प्रतिरोध क्षमता विकाश भएको भन्दा पनि उनीहरूलाई सम्पर्कमा आउन नदिएरै कोभिड नियन्त्रण गरिएको मास्के बताउँछन्।
नेपालको अर्थतन्त्रको अवस्था र शासन प्रणाली जस्तोसुकै भए पनि विभिन्न देशहरूबाट सिक्ने र समयमै काम गर्ने गरे शासन प्रणालीहरूलाई देखाएर भिन्नताहरूको अर्थ देखाउन जरुरी नहुने उनी ठान्छन्।
जस्तै भारतमा अक्सिजनको सङ्कट भएको त हामीले देखेको हो नि एक महिना अघि नै। भने नेपालमा अक्सिजन सङ्कट हुँदैन भनेर सोच्नु मूर्खतापूर्ण हो नि। त्यसको व्यवस्थापन समयमै किन गरिएन। यस्ता कुराहरू निकै महत्त्वपूर्ण छन् भन्ने मलाइ लाग्छ,मास्केले भने।
मास्केका अनुसार चीनमा सङ्क्रमणको साङ्लो तोड्न सुरुवाती चरणमा कडा लकडाउन गरिएको थियो। त्योसँगै रातारात कोभिडका लागि भनेर निश्चित अस्पतालहरू पनि बनाइएको थियो।
चीनमा अस्पतालको कमी त थिएन। तर उनीहरूले त्यतिखेर नै यो कति सर्न सक्छ भन्ने कुरा बुझेका थिए। अस्पतालहरू आफै सङ्क्रमणको केन्द्र हुन सक्छ भन्ने भएको हुनाले उनीहरूले छुट्टै अस्पतालहरू बनाए जसले गर्दा सङ्क्रमण नियन्त्रण हुँदै गयो, उनले भने। आर्थिक अवस्थाभन्दा पनि व्यवस्थापकीय कमजोरीका कारण नेपालमा कोभिडको समस्या जटिल हुँदै गएको मास्केको बझाइ छ।
(बीबीसीको सहयोगमा)