चरिकोट । दोलखामा पछिल्लो समय कारोना भाइरस(कोभिड १९)को संक्रमण तिब्रगतिले बढीरहेको छ । सिमित श्रोत र साधानमार्फत सञ्चालनमा रहेको चरिकोट अस्पतालमा अहिले कोभिडका बिरामीको उपचार भइरहेको छ । तर,केहि दिन देखि सो अस्पतालमा अक्सिजनको अभाव हुन सक्ने भन्दै अस्पताल प्रशासनले सूचना जारी गरिसकेको छ ।
यस्तो बेलामा त्यहाँका विभिन्न पेशा र व्यवसायमा क्रियाशील युवाहरुले जिल्लामा अक्सिजन अभाव हुन नदिन भन्दै ‘मेरो एक हजार अक्सिजन किन्नलाई ’ भन्ने अभियानको सुरुवात गरेका छन् ।
कुनैपनि अस्पतालमा अक्सिजनको अभावबाट बिरामी फिर्ता हुन नपरोस भन्ने उद्धेश्यले स्वस्फूर्त रुपमा सोमबारबाट अभियानको सुरुवात गरिएको अभियन्ता एवंम पत्रकार गोकर्णप्रसाद भण्डारीको भनाई छ ।
हालसम्म अभियानमा करिब एक लाख रुपैया उठिसकेको र पैसा आउने क्रम जारी रहेको उनको भनाई छ । अभियानमा हजार देखि दश हजारसम्म एकै व्यक्तिले खातामा जम्मा गर्न थालेको अभियान्ता भण्डारीको भनाई छ ।
कोरोना संक्रमित बिरामीलाई अक्सिजन अभाब लगायत अन्य सामाग्री अभाव नहोस भन्ने हेतुले हजार संकलन अभियान सुरु गरेको दोलखाका नागरिक अगुवा चिरञ्जीवी मास्केले बताए । यो अभियान दोलखाका सबैपक्षको भएको र यो वा उ नभई युवाहरुले रकम जम्मा गरिरहेको नागरिक अगुवा एबं समितिका संरक्षक मास्केको भनाई छ ।
यो अभियानमा सोमबार ब्यक्तिगत खाताबाट रकम जम्मा गरेपनि मंगलबारबाट संस्थागत रुपमा रकम संकलन गर्न बिष्णु लक्ष्मि साहित्य पुरस्कार समितिको खातामा रकम जम्मा गर्न थालिएको छ ।
उठेको रकमबाट स्थानिय प्रशासनको समन्वयमा दोलखाका अस्पतालहरुलाई अक्सिजन अवस्था हेरेर उपलब्ध गराउने अभियानका अभियान्ताहरुले जनाएका छन । यस अभियानमा देश तथा बिदेशमा रहनु भएका दोलखाली तथा अन्य ब्यक्तिहरुले पनि रकम जम्मा गर्न थालेको अभियानमा संलग्न रहेका अभियन्ता पुस्कर अधिकारीले बताए ।
रकम आफ्नो जन्मदिनको अवसर पारेर समेत अक्सिजन खरिदका लागि दिन थालिएकोले यो अभियान प्रभावकारी ढंगले अगाडि बढिरहेको अभियानका अभियान्ता एबं पत्रकार श्रृजनकुमार घिमिरेले बताए ।
मेरो एक हजार अक्सिजन किन्नलाई अभियानमा सहयोग गर्नका लागि बिष्णुलक्ष्मि साहित्य पुरस्कार समितिको एनसिसि बैंङ्क चरिकोट शाखाको खाता नम्बर ०२८००००२३९८०१ मा जम्मा गर्न सकिने बताइएको छ ।
उठेको रकम पार्दशि ढंगले कोरोना संक्रमितको स्वास्थ्य सेवाका लागि बितरण गरिने अभियानमा संलग्न पत्रकार सुजन काफ्लेले बताए ।