काठमाडौं । वाणिज्य बैंकहरूले जलविद्युतमा ५.९७ प्रतिशत मात्र कर्जा प्रवाह गरेका छन । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म बैंकहरुले २ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ विभिन्न जलविद्युत आयोजनामा लगानी गरेका छन । राष्ट्र बैंकले आगामी सन २०८१ सम्म जलविद्युतमा लगानी बढाएर १० प्रतिशत पुर्याउन बैंकहरुलाई निर्देशन दिइसकेको छ ।
ऊर्जामा लगानी बढाउन केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो । जसअनुसार बैंकहरुले २०७८ असार मसान्तसम्म न्यूनतम ६ प्रतिशत, २०७९ असार मसान्तसम्म ७ प्रतिशत, २०८० असार मसान्तसम्म ९ प्रतिशत र २०८१ असार मसान्तसम्म १० प्रतिशत ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । नेपाल बैंकर्स एसोसियसनका अनुसार हालसम्म बैंकहरुले ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन ।
यस्तै बैंकहरुले कृषि क्षेत्रमा १२.६३ प्रतिशत कर्जा प्रवाह गरेका छन । कृषि प्राथमिकता प्राप्त क्षेत्र हो । बैंकहरुले २०७८ असार मसान्तसम्म न्यूनतम ११, २०७९ असार मसान्तसम्म १३ र २०८० असार मसान्तसम्म १५ प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बैंकहरुले साना तथा मझौला उद्योगमा ९.२२ प्रतिशत कर्जा लगानी गरेका छन । बैंकहरुले १ करोडभन्दा कम रकमका कर्जाहरु आफ्नो कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत, २०७९ असार मसान्तसम्म १२ प्रतिशत, २०८० असार मसान्तसम्म १४ प्रतिशत र २०८१ असार मसान्तसम्म १५ प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको ९ महिनामा कर्जा सापटी २१.८ प्रतिशतले बढेको छ । साउनदेखि चैतसम्म बैंकहरुले ७ खर्ब १५ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन । अघिल्लो वर्षको यसै अवधिमा कर्जा प्रवाह १२.७ प्रतिशतले बढेर ३ खर्ब ७० अर्ब ९ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप परिचालन १३.७ प्रतिशतले बढेको छ । चैतसम्म बैंकहरुको निक्षेप ५ खर्ब २४ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । ९ महिनामा बैंकहरुले निक्षेपको तुलनामा कर्जा लगानी बढी रहेको छ ।