काठमाडौं। विगत लामो समयदेखि भारतबाट ठूलो परिमाणमा बिजुली आयात गर्दै आएको नेपालको विद्युत व्यापार चित्र विगत दुई वर्षमा उल्लेखनीय रूपमा फेरिएको छ। नेपाल विद्युत प्राधिकरण (एनइए) ले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४/२०२५ मा नेपालले आयात गरेभन्दा बढी बिजुली निर्यात गरेको छ, जुन दशकौंदेखि विद्युत आयातमा निर्भर रहेको मुलुकको लागि एउटा ऐतिहासिक मोड मानिन्छ।
प्राधिकरणको तथ्यांक अनुसार सन् २०१६ मा नेपालले जम्मा १ हजार ७७८ मिलियन युनिट बिजुली आयात गरेको थियो, जबकि निर्यात मात्र ३ मिलियन युनिटमा सीमित थियो। आयातको तुलनामा नगण्य भन्दा पनि कम हो। यो अवस्था लगातार तीन वर्ष २०१६, २०१७ र २०१८ सम्म उस्तै रह्यो। जबकि आयात भने २०१८ मा २ हजार ५८२ मिलियन युनिटसम्म पुगिसकेको थियो। यसले त्यतिबेला नेपाल पूर्ण रूपमा आयातमा निर्भर विद्युत बजार रहेको देखाउँछ।
२०१९ पछि क्रमिक सुधार
सन् २०१९ मा निर्यात एकाएक ३ बाट ३५ मिलियन युनिट पुग्यो, जुन आफैंमा सानो तर संकेतात्मक परिवर्तन थियो। त्यसपछि वर्ष २०२० मा निर्यात थप बढेर १०७ मिलियन युनिट पुग्यो, जबकि यही वर्ष आयात भने १ हजार ७२९ मिलियन युनिटमा झरेको थियो। कोभिड-१९ महामारीका कारण विद्युत माग घटेको प्रभाव यसमा देखिन सक्छ।
सन् २०२१ मा भने आयात फेरि उच्च दरमा बढेर २ हजार ८०६ मिलियन युनिट पुग्यो, जुन विगत एक दशककै सबैभन्दा बढी वार्षिक आयात हो। यही वर्ष निर्यात भने ३८ मिलियन युनिटमा खुम्चियो, जसले जलविद्युत उत्पादनमा त्यस वर्ष देखिएको उतारचढावको संकेत गर्छ।
सन् २०२२ मा भने विद्युत व्यापारको ढाँचा नै बदलिन थाल्यो। यस वर्ष आयात नाटकीय रूपमा घटेर १ हजार ५४३ मिलियन युनिटमा झर्यो, जुन अघिल्लो वर्षको तुलनामा करिब ४५ प्रतिशतले कम हो। जबकि निर्यात भने ३८ बाट सीधै ४९४ मिलियन युनिट पुग्यो, जुन १३ गुणाभन्दा बढीको वृद्धि हो। सन् २०२३ मा निर्यात थप बढेर १ हजार ३४६ मिलियन युनिट पुग्यो, यद्यपि यस वर्ष पनि आयात (१,८३३ मिलियन युनिट) निर्यातभन्दा बढी नै रह्यो।
पहिलोपटक निर्यातले आयात उछिन्यो
तथ्यांकले देखाए अनुसार सन् २०२४ मा नेपालको विद्युत निर्यात १ हजार ९४६ मिलियन युनिट पुग्दा आयात भने १,८९५ मिलियन युनिटमा सीमित रह्यो। यसले गर्दा उपलब्ध तथ्यांकको अवधिमा पहिलोपटक नेपालको वार्षिक विद्युत निर्यातले आयातलाई उछालेको देखिन्छ।
सबैभन्दा पछिल्लो सन् २०२५ मा यो प्रवृत्ति अझ स्पष्ट देखिन्छ। यस वर्ष नेपालले २ हजार ३८० मिलियन युनिट बिजुली निर्यात गर्दा आयात भने १ हजार ६८१ मिलियन युनिटमा झरेको छ। अर्थात् निर्यातले आयातलाई करिब ६९९ मिलियन युनिटले उछिनेको छ। यसरी लगातार दोस्रो वर्ष नेपाल वार्षिक हिसाबमा विद्युतको खुद निर्यातक बनेको देखिन्छ।
२०१६ देखि २०२५ सम्मको तथ्यांक तुलना गर्दा निर्यातमा भएको वृद्धि झन् चाखलाग्दो देखिन्छ। २०१६ मा जम्मा ३ मिलियन युनिट रहेको वार्षिक निर्यात २०२५ मा आइपुग्दा ७९० गुणाभन्दा बढीले बढेर २,३८० मिलियन युनिट पुगेको छ।
यो तथ्यांकले नेपालको जलविद्युत उत्पादन क्षमता विगत केही वर्षमा उल्लेख्य रूपमा विस्तार भएको र वर्षायाममा उत्पादित अतिरिक्त बिजुली छिमेकी मुलुक भारततर्फ निर्यात हुन थालेको संकेत गर्छ। साथै वार्षिक तथ्यांकले सिजनगत भिन्नता (वर्षायाममा बढी उत्पादन र निर्यात, हिउँदमा आयातमा वृद्धि) लाई पूर्ण रूपमा नदेखाउने भएकाले वास्तविक चित्र अझ जटिल हुन सक्छ। तथापि, समग्र वार्षिक तथ्यांकले नेपाल क्रमशः विद्युत आयातमा निर्भर मुलुकबाट क्षेत्रीय विद्युत व्यापारमा निर्यातकको भूमिकातर्फ अग्रसर हुँदै गएको स्पष्ट संकेत गर्छ।
यद्यपि आयात पूर्ण रूपमा शून्य नभएको र २०२५ मा पनि १ हजार ६८१ मिलियन युनिट बिजुली आयात भइरहेको तथ्यले देखाउँछ कि नेपाल अझै हिउँदयाममा वा उच्च माग हुँदा सीमापारि विद्युतमा निर्भर रहनुपर्ने अवस्थामै छ। प्रसारण पूर्वाधार (हालसम्म ६ हजार ७६० सर्किट किमी लाइन सञ्चालनमा रहेको) थप विस्तार हुँदै जाँदा भविष्यमा दुवैतर्फको व्यापार थप बढ्ने सम्भावना रहेको देखिन्छ।