काठमाडौं । दिनभर बजार घटाउने र बढाउनेबीच घम्साघम्सी चले पनि बजार बढेर कारोबार बन्द भएको छ । नाफा बुक गर्ने र सेयर उठाउने खेल कारोबार समयसम्म चलिरह्यो । केही लगानीकर्ताले यही मौकामा नाफा पनि बुक गरेको देखियो भने केही लगानीकर्ताले यही बेलालाई सेयर उठाउने मौकाको रुपमा लिए ।
बजार सूचक कुनै बेला घट्ने र कुनै बेला बढे चलिरहे पनि कारोबार रकमले आज नयाँ कीर्तिमान कायम गर्दै १३ अर्ब माथि कारोबार भएको छ । यो अहिलेसम्मकै सार्वधिक कारोबार हो । यस अघि बुधबार १२ अर्ब ९५ करोड रुपैयाँ कारोबार भएको थियो । उक्त रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाउन बजार सफल भएको छ ।
नेप्से सूचक पनि ३.०७ अंकले बढेर अहिलेसम्मकै उच्चतम २८२३.०६ विन्दुमा आइपुगेको छ । तथापि, अन्तिम प्रहरमा बिक्रेता अघि बढी हावी भएको पनि देखिन्छ ।
आम लगानीकर्ताहरु उत्साहित हुँदा खरिदबिक्रीमा तेजी आएको हो । व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरु अहिले सेयर बजारमा सक्रिय रहेका छन् । यसबाहेक यो सेयर बजारको सिजन पनि हो । सिजनमा बढी चहलपहल हुनुलाई स्वभाविक मान्न सकिन्छ । यसबाहेक चालु आर्थिक वर्ष सकिन करिब डेढ महिनाजति मात्र समय छ । यसअवधिमा विकास खर्च धेरै हुने अपेक्षा छ ।
अहिले कोरोनाले केही प्रभावित बनाए पनि ठूला परियोजनाका कामहरु भइरहेका छन् । सरकारी खातामा भएको पैसा वित्तीय प्रणाली तथा बजारमा आउने भएकाले पनि तरलता सहज हुन जान्छ । यसले पनि खरिदबिक्री रकम वृद्धिमा सहयोग पुग्छ । बैंकमा रहेको अधिक तरलता, सस्तो ब्याजदर र लगानीकर्ताको आत्मबल दह्रो रहेकाले पनि कारोबार रकममा सकारात्मक प्रभाव परेको हो ।
कोरोनाका कारण लगानीका अन्य क्षेत्र संकुचित भएकाले सेयर खरिदबिक्रीमा धेरैको आकर्षण बढेको अनुमान गर्न सकिन्छ । बुल रनले पनि सहयोग गरेको हो । यस्तै, अनलाइन प्रणालीको विकासले विश्वभर रहेका नेपालीले कारोबार गर्न पाएका छन् । तथापि, बजार सधैं एउटै गतिमा हुँदैन । खरिदबिक्री रकम र नेप्से पनि सधैं एउटै रफ्तारमा अघि बढ्दैन ।
बजार तलमाथि हुँदै अघि बढ्छ । बेलाबेलामा नाफा बुक गर्ने प्रवृत्ति पनि रहन्छ । त्यही भएर लगानीकर्ताले होसियारपूर्वक आफ्नो रणनीति तय गर्नुपर्छ । जोखिम बहन क्षमता, होल्ड गर्ने अवधि अनि उचित कम्पनीहरु छनोट गर्न सक्नुपर्छ । यसबाट बजारमा सुरक्षित लगानी गर्न सहयोग पुग्ने गर्छ ।
१३ मध्ये ५ समूहको सूचक वृद्धि भएको छ । वाणिज्य बैंक समूह पनि हरियो बनेको छ । निर्जीवन बिमा समूह र इन्भेष्टमेन्ट समूहमा बढी तेजी आएको छ । खरिदबिक्री रकममा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीसहित एचआइडीसीएल अग्रस्थानमा रहेको छ ।