काठमाडौं । सरकारले कोभिड–१९ को विरुद्धको खोपका लागि विभिन्न उत्पादक मुलुकसँग पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्याका अनुसार अमेरिका, रुस, बेलायत, चीन र भारत लगायत खोप उत्पादक मुलुकसँग खोप ल्याउन औपचारिक पत्र पठाइएको छ ।
मन्त्रालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले ती मुलुकका स्वास्थ्यमन्त्रीलाई सम्वोधन गर्दै करिव ५० लाख खोप खरीद गर्न सरकार इच्छुक भएको जानकारी दिए ।
ती मुलुकमध्ये केहीले पत्रको जवाफ दिएका र केहीले दिन बाँकी रहेको उनको भनाई छ । “खोप उत्पादक देशसग व्यक्तिगत, राजनीतिक र कुटनीतिक पहल भइरहेको छ,” मन्त्री त्रिपाठीले भने, “यसैले खोप चाँडै आउँछ ।”उहाँले अन्तराष्ट्रिय बजारमा खोप नभएकोले आउन ढिलाई भइरहेको जानकारी दिए ।
मन्त्री त्रिपाठीले युरोपियन युनियसँंग मौज्दात रहेको खोप ल्याउनेबारे पनि छलफल भइरहेको समेत जानकारी दिए । अहिले भारत सरकारले १० लाख मात्रा कोभिशिल्ड, चीन सरकारले ८ लाख मात्रा भेरोसेल र कोभ्याक्स सुविधा मार्फत तीन लाख ४८ हजार कोभिशिल्ड अनुदानमा र १० लाख कोभिशिल्ड खोप खरीद गरेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म २६ लाख ६५ हजार ९८७ ले पहिलो मात्रा र ५ लाख ५३ हजार ५८९ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । मन्त्री त्रिपाठीले अवको चार हप्तामा सङ्क्रमण घट्दै जाने बताएका छन। विगत केही दिनदेखि सङ्क्रमण घट्दै गएकाले आगामी चार हप्तामा घट्ने उनको भनाई रहेको छ ।
यस्तै भेन्टिलेटर ५७७ थप गरिएको र १०४ वटा थप्ने क्रममा रहेको छ । सघन उपचार कक्ष (आइसियु) ४०० थप गरि ३ हजार पुर्याइएको र ६३० थप्ने योजना रहेको छ । हाइ डिपेन्डेन्सी युनिट (एचडियु) २ हजार २७५ सरकारी र नीजि अस्पतालमा ७७८ थपिएको तथा ४०० थप गर्ने योजना रहेको छ । मन्त्री त्रिपाठीले विज्ञले स्वास्थ्य सङ्कटकाल लगाउनेबारे दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको जानकारी दिए ।
सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणक लागि देशभरका १५७ अस्पताललाई सूचीकृत गरि उपचार गरिरहेको छ । तिमध्ये ४५ वटा निजी अस्पतालबाट कोभिड–१९ संक्रमित बिरामीको निःशुल्क उपचार गरिरहेको छ । मन्त्री त्रिपाठीले गत वैशाखमा मात्रै कोभिड–१९ बिरामीको निःशुल्क उपचार गरेबापत ४५ करोड रुपैयाँ अस्पतालहरुलाई शोध भर्ना गरेको जानकारी दिए ।
अक्सिजन अभाव कम
मन्त्रालयले अक्सिजनको अभाव विस्तारै कम भइरहेको जनाएको छ । उहाँले सङ्क्रमितको उपचारका लागि अक्सिजनको व्यवस्थापन विस्तारै सहज भइरहेको जानकारी दिए । उनका अनुसार ३२ अस्पतालमा अक्सिजन प्लान्ट रहेकोमा थप १९ अस्पतालमा थप्ने योजना मन्त्रालयको रहेको जानकारी दिए ।यस्तै तरल अक्सिजन तीन अस्पतालमा भएपनि मन्त्रालयले थप २७ मा जोड्ने तयारी रहेको छ ।
सङ्क्रमणको दोस्रो लहर आइसकेपछि सरकारले ९०० अक्सिजन कन्सन्ट्रेटर र ५ हजार अक्सिजन सिलिण्डर ल्याएको छ मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अहिले हप्तामा ७० देखि ८० टन तरल अक्सिजन ल्याइरहेको जानकारी दिए । उनका अनुसार पहिला २० टन मात्र आउने गरेका थियो । उहाँले अवको केही दिन सय टन तरल अक्सिजन भारत लगायत मुलुकबाट ल्याउने बताए । रासस